काठमाडौं– कर छली, अवैध रूपमा लगानी विदेश लगेको, दूरसञ्चार कानुनविपरीत स्वामित्व हस्तान्तरण गरेको तथा सेयर खरिद–बिक्री प्रक्रियामा गम्भीर अनियमितता गरेको आरोपमा एनसेलका प्रमुख लगानीकर्ता, नेपालस्थित उच्च व्यवस्थापक तथा सम्बन्धित सरकारी अधिकारीविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको सयदिने कार्यप्रगति विवरणमा एनसेलको स्वामित्व हस्तान्तरण र सेयर कारोबारसँग जोडिएका अनियमितताको अनुसन्धानलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रमुख प्राथमिकतामध्ये एकका रूपमा समावेश गरिएको छ ।
सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिरहेको जनाएको छ ।
सरकारका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदनका आधारमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइरहेको छ ।
अनुसन्धानमा नेपाल राष्ट्र बैंक पनि संलग्न रहेको बताइएको छ ।
लगानीकर्ता, व्यवस्थापक र सरकारी अधिकारी अनुसन्धानको घेरामा
सीआईबी स्रोतका अनुसार अनुसन्धानको दायरा एनसेलका प्रमुख लगानीकर्ता, नेपालस्थित उच्च व्यवस्थापन, सेयर कारोबारमा संलग्न व्यक्तिहरू तथा स्वामित्व हस्तान्तरणका क्रममा निर्णय गर्ने तत्कालीन सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणका जिम्मेवार अधिकारीसम्म पुगेको छ ।
अनुसन्धानमा एनसेलका प्रमुख लगानीकर्ता सचिनलाल आचार्य, सतिशलाल आचार्य र भावना सिंह सहित कम्पनीलाई सार्वजनिक लिमिटेडको स्वरूप दिन सात कर्मचारीका नाममा वितरण गरिएका ११ कित्ता सेयरसमेत शंकास्पद देखिएको उल्लेख छ ।
ती सातै जना सेयरधनी अनुसन्धानको दायरामा रहेका छन् ।
१४ पटक स्वामित्व परिवर्तन, सरकारको स्वीकृति नलिएको निष्कर्ष
टंकमणि शर्मा दंगाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनले एनसेल स्थापना भएयता १४ पटक भएको सेयर तथा स्वामित्व खरिद–बिक्री प्रक्रियामध्ये अधिकांश नेपाल सरकारको पूर्वस्वीकृतिबिना सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनअनुसार तीमध्ये अधिकांश कारोबार नेपालबाहिर अफसोर संरचनामार्फत गरिएको थियो ।
कारोबारसँग सम्बन्धित सम्पूर्ण अभिलेख नेपालका नियामक निकायमा उपलब्ध गराइएको छैन भने केही नेपाली सेयरधनीलाई गरिएको भुक्तानीसमेत नेपालको बैंकिङ प्रणाली प्रयोग नगरी विदेशबाट गरिएको देखिएको छ ।
सीआईबीका अनुसार एनसेलको स्वामित्व परिवर्तनमा २०६१ सालदेखि नै अनियमितता सुरु भएको थियो ।
अनुसन्धानमा एक वर्षभित्रै कम्पनीको स्वामित्व करिब १० पटकसम्म परिवर्तन भएको तथ्य फेला परेको छ ।
दूरसञ्चार नियमावली उल्लंघनको आरोप
अनुसन्धानमा नेपाल दूरसञ्चार नियमावलीको नियम १०(क) उल्लंघन भएको आरोप पनि समेटिएको छ ।
उक्त व्यवस्थाअनुसार एउटै कम्पनीले एकभन्दा बढी दूरसञ्चार सेवा प्रदायकको अनुमति लिन पाउँदैन ।
तर एनसेलमा लगानी गरेको कम्पनीले नै पछि स्मार्ट टेलिकममा समेत लगानी गरेको भन्दै सीआईबीले यसलाई कानुनविपरीत कार्य ठहर गरेको छ ।
प्रतिवेदनले यसमा अनुमति दिने नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारी तथा सम्बन्धित मन्त्रीहरूको भूमिकासमेत अनुसन्धानको विषय बन्नुपर्ने उल्लेख गरेको छ ।
हुन्डी र क्रिप्टोमार्फत रकम विदेश लगेको आशंका
छानबिन समितिले एनसेलको सेयर खरिद–बिक्रीमा न्यून मूल्य देखाएर वास्तविक रकम लुकाइएको र त्यसबाट सिर्जना भएको रकम हुन्डी तथा क्रिप्टोकरेन्सीमार्फत विदेश पठाइएको आशंका व्यक्त गरेको छ ।
प्रतिवेदनमा यस्तो कारोबारबाट अवैध आम्दानीलाई वैध देखाउने प्रयास भएको हुन सक्ने उल्लेख गर्दै सम्पत्ति शुद्धीकरण र विदेशी मुद्रा अपचलनको कोणबाट समेत विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको छ ।
सोही सिफारिसका आधारमा सीआईबीले २०२३ यताका वित्तीय कारोबार, विदेशी लगानीको स्रोत, डिजिटल सम्पत्ति कारोबार तथा अन्तर्राष्ट्रिय रकम स्थानान्तरणको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।
बैंकिङ प्रणालीबाहिरबाट सेयर कारोबार
प्रतिवेदनले एनसेलको स्वामित्व हस्तान्तरणसँग सम्बन्धित अधिकांश आर्थिक कारोबार नेपालको बैंकिङ प्रणाली प्रयोग नगरी विदेशमै सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
सरकारी अध्ययनअनुसार सेयर खरिद–बिक्रीका मूल सम्झौता, भुक्तानीका अभिलेख तथा लगानी स्रोतसम्बन्धी पर्याप्त विवरण नेपालका आधिकारिक निकायमा पेश गरिएको छैन ।
यसले विदेशी लगानी, कर प्रशासन र वित्तीय पारदर्शितासम्बन्धी कानुनसमेत उल्लंघन भएको आशंका बलियो बनेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।
१५ अर्बभन्दा बढी बैंक ऋण जोखिममा
प्रतिवेदनले एनसेलले विभिन्न नेपाली बैंकबाट लिएको करिब १५ अर्ब ८५ करोड रुपैयाँ ऋणसमेत जोखिममा परेको औंल्याएको छ ।
मलेसियाको आजियाटा ग्रुपले सन् २०२३ मा आफ्नो स्वामित्व स्प्रेक्टलाइट यूकेलाई बिक्री गर्ने सम्झौतामा नेपाली बैंकहरूलाई दिएको कर्पोरेट ग्यारेन्टी फिर्ता लिने र बाँकी ऋणको जिम्मेवारी नलिने उल्लेख गरेको प्रतिवेदनमा भनिएको छ ।
यद्यपि नेपाल सरकारले उक्त स्वामित्व हस्तान्तरणलाई स्वीकृति नदिएकाले सम्झौता हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
सरकारको संकेत : अब कानुनी कारबाही
सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धिमा एनसेल प्रकरणलाई शासकीय सुधार र भ्रष्टाचार नियन्त्रणअन्तर्गत प्रमुख अनुसन्धानका रूपमा राखेको छ ।
सरकारी अधिकारीहरूका अनुसार छानबिन प्रतिवेदनको कार्यान्वयनसँगै सम्बन्धित व्यक्ति र निकायविरुद्ध कानुनबमोजिम मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।
यदि अनुसन्धानबाट प्रतिवेदनमा उल्लेख गरिएका तथ्यहरू प्रमाणित भएमा ठगी, आपराधिक विश्वासघात, सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा अपचलन, कर छली तथा दूरसञ्चार कानुन उल्लंघनलगायतका कसुरमा एकैसाथ अभियोजन हुन सक्ने देखिएको छ ।






















