काठमाडौं– राहदानी विभागले पासपोर्ट खरिद ठेक्का अघि बढाउनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पटक–पटक परामर्श गरी ‘ग्रिन सिग्नल’ पाएपछि प्रक्रिया अघि बढाएको खुलेको छ ।
तर, त्यही ठेक्का प्रक्रियामाथि अख्तियारले अहिले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विभागका अधिकारीहरूले तत्कालीन प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयोगका पदाधिकारीसँग ठेक्का प्रक्रिया, दुई प्याकेजमा विभाजन र प्राविधिक पक्षबारे छलफल गरेका थिए ।
विभागका कर्मचारीका अनुसार अख्तियारले प्रक्रिया अघि बढाउन कुनै आपत्ति नरहेको संकेत दिएको थियो ।
ठेक्का प्रक्रियामा सार्वजनिक खरिद विज्ञ सुरेश प्रधान, ध्रुव नेपाल र रत्नकुमार श्रेष्ठको समेत राय लिइएको थियो ।
उनीहरूले प्रारम्भमा विभागलाई दिएको सुझाव र पछि अख्तियारको अनुसन्धानमा दिएको रायबीच विरोधाभास देखिएको दाबी गरिएको छ ।
पासपोर्ट खरिदलाई दुई प्याकेजमा विभाजन गर्ने निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको दाबी सम्बन्धित कर्मचारी तथा परराष्ट्र मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपालको बयानमा समेत उल्लेख छ ।
अख्तियारले आठ महिना अनुसन्धानपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दै ठेक्का विभाजन, प्राविधिक मूल्यांकन र खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाएको छ ।
यता विभागका अधिकारीहरू भने अख्तियारकै परामर्श र विज्ञहरूको सुझावका आधारमा प्रक्रिया अघि बढाइएको दाबी गर्दै आएका छन् ।
यसैबीच, जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा तथा उनको पक्षबाट मुद्दाको प्रतिरक्षाका लागि विभिन्न तहमा सक्रियता देखिएको दाबी पनि सार्वजनिक भएको छ ।
राष्ट्रिय सभा सदस्य सुनीलबहादुर थापाले भने आफू कुनै पनि रूपमा पासपोर्ट खरिद प्रक्रियामा संलग्न नरहेको बताएका छन् ।






















