काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न शीर्ष नेताहरूबीच लगातार भेटघाट भइरहे पनि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन ।
विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिएपछि पार्टीभित्रको शक्ति संघर्ष झन् गहिरिएको छ ।
त्यसयता सभापति गगन थापा, डा.शेखर कोइराला, शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत नेताहरूबीच पटक–पटक छलफल भए पनि विवाद समाधानको सूत्र फेला परेको छैन ।
मुख्य विवाद क्रियाशील सदस्यताको डिजिटल अध्यावधिक र १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग समायोजन गरेर १५औँ महाधिवेशनमा जाने विषयमा केन्द्रित छ ।
संस्थापन र संस्थापन इतर पक्ष आ–आफ्नो अडानमा कायम रहेकाले भेटघाट बाक्लिए पनि उपलब्धि शून्य देखिएको छ ।






















