काठमाडौं- काठमाडौं उपत्यकाको जल सुरक्षा सुदृढ गर्ने उद्देश्यले निजामती अस्पताल परिसरमा कृत्रिम भू–जल पुनर्भरण परियोजनाको शुभारम्भ गरिएको छ । बोटलर्स नेपाल लिमिटेड (बीएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी)को संयुक्त पहलमा सञ्चालन हुन लागेको परियोजनाको शिलान्यास मंगलबार सम्पन्न भएको हो ।
शिलान्यास कार्यक्रममा सिभिल सर्भिस अस्पताल, कोका–कोला बेभरेजेज नेपाल (सीसीबीएन) तथा सीआईयूडीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा काठमाडौंमा बढ्दो जल संकट, भू–जलको सतहमा आएको गिरावट र शहरी डुबानको समस्या समाधानका लागि सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।
परियोजनाअन्तर्गत करिब ४,३४५ वर्गमिटर क्षेत्रबाट वर्षाको पानी तथा सतहमा बग्ने पानी संकलन गरी जमिनमुनिको जलभण्डार (एक्विफर)मा पुनर्भरण गरिनेछ । यस प्रणालीमार्फत वार्षिक करिब ६२ लाख ५० हजार लिटर भू–जल पुनर्भरण हुने अपेक्षा गरिएको छ । यसले स्थानीय क्षेत्रमा डुबानको जोखिम न्यूनीकरण गर्नुका साथै दिगो शहरी जल व्यवस्थापनमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
शिलान्यास कार्यक्रममा निजामती अस्पतालका उपसचिव अच्युतराज रेग्मीले अस्पताल परिसरमा यस्तो परियोजना सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गर्दै यसबाट अस्पताल र आसपासका समुदायले प्रत्यक्ष लाभ पाउने बताए । उनले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे ।
यो परियोजना बोटलर्स नेपाल लिमिटेड, कोका–कोला बेभरेजेज नेपाल र सीआईयूडीबीचको जल स्रोत संरक्षणसम्बन्धी दीर्घकालीन सहकार्यको निरन्तरता हो । यसअघि काठमाडौंको रानीबारी, भक्तपुरको थिमीस्थित यूसेप, ललितपुरको राजदल सैनिक ब्यारेक, बालाजु पार्क तथा काठमाडौं महानगरपालिकाका वडा नम्बर २२ र २५ मा यस्ता कृत्रिम भू–जल पुनर्भरण परियोजना सञ्चालनमा आइसकेका छन् ।
आयोजकका अनुसार निजामती अस्पतालमा निर्माण हुन लागेको यो प्रणाली भविष्यमा अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संस्थाले पनि अपनाउन सक्ने नमुना परियोजनाका रूपमा विकास गरिनेछ । यसले दीर्घकालीन रूपमा भू–जल संरक्षण, शहरी उत्थानशीलता र दिगो जल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कोका–कोला बेभरेजेज नेपालले जल संरक्षण, भू–जल पुनर्भरण, फोहोर व्यवस्थापन तथा समुदाय सशक्तीकरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । त्यसैगरी, सीआईयूडीले नगरपालिकाहरू, स्थानीय समुदाय र विकास साझेदारसँग सहकार्य गर्दै शहरी योजना, जल सुरक्षा, जलवायु उत्थानशीलता तथा वातावरण व्यवस्थापनका क्षेत्रमा दिगो समाधान कार्यान्वयन गर्दै आएको छ ।


विश्व खबर 



















