काठमाडौं- सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष (ब्रेस्टफिडिङ रुम) स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जारी गरेको परिपत्रमार्फत निजी स्वास्थ्य संस्थाहरूलाई यथाशीघ्र स्तनपान कक्ष स्थापना गरी प्रभावकारी रूपमा सञ्चालन गर्न भनिएको हो ।
महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा स्तनपान गराइरहेका आमालाई स्वास्थ्य संस्था, सार्वजनिक स्थल, कार्यस्थल तथा आपतकालीन अवस्थासमेत सुरक्षित र सहज वातावरणमा स्तनपान गराउने उद्देश्यले यो व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख छ ।
महाशाखाले ‘स्तनपान प्रवर्द्धन, संरक्षण तथा सहयोगका लागि स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि, २०८०’ बमोजिम सबै निजी अस्पताल तथा क्लिनिकमा स्तनपान कक्ष स्थापना र सञ्चालन अनिवार्य गरिएको जनाएको छ ।
उक्त निर्देशनको बोधार्थ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा मन्त्रालयको सार्वजनिक सूचना समन्वय शाखामा समेत पठाइएको महाशाखाले जनाएको छ ।


विश्व खबर 



















