images
images
  • तामाकोशी–५ हाइड्रोको ठेक्का प्रक्रियामाथि छानबिनको माग, प्रम बालेनको कार्यालयमा उजुरी

    काठमाडौं– तामाकोशी–५ जलविद्युत आयोजनाको इलेक्ट्रो–मेकानिकल उपकरण तथा प्रसारण लाइन निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ ।

    एचआरपीई–जेडओईसी जेभीले दिएको उजुरीमा प्राविधिक योग्यता नपुगेको कम्पनीलाई मूल्यांकन समितिले पास गराएको, फर्जी कागजात पेश गरिएको तथा बैंक ग्यारेन्टीसम्बन्धी प्रक्रियासमेत शंकास्पद रहेको दाबी गरिएको छ ।

    उजुरीकर्ताका अनुसार छनोटमा परेको एचजेएचई कम्पनीसँग बोलपत्रमा उल्लेख गरिएअनुसार आवश्यक अनुभव छैन ।

    download 1

    कम्पनीले भियतनामस्थित एक जलविद्युत आयोजनाको अनुभवलाई आफ्नो भन्दै गलत विवरण पेश गरेको आरोप पनि लगाइएको छ ।

    त्यस्तै, करिब ५४ करोड रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जारी गर्ने क्रममा बैंकिङ मापदण्ड उल्लंघन भएको तथा पुनरावलोकन निवेदनमाथि निर्णय नगरी आर्थिक प्रस्ताव खोलिएको भन्दै सार्वजनिक खरिद ऐनको उल्लंघन भएको दाबी गरिएको छ ।

    उजुरीमा ठेक्का प्रक्रिया, संलग्न कर्मचारी र सम्बन्धित कम्पनीमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न तथा फर्जी कागजात पेश गर्ने कम्पनीलाई कालोसूचीमा राख्न माग गरिएको छ ।

    उक्त उजुरी प्रधानमन्त्री कार्यालयसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायमा समेत पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images