images
images
  • रूसी ड्रोन रूमेनियाको आवासीय भवनमा विस्फोट, २ घाइते

    काठमाडौं– सले युक्रेनमाथि गरेको आक्रमणका क्रममा प्रहार गरिएको एक ड्रोन रूमेनियाको एउटा आवासीय भवनमा ठोक्किँदा आगलागी भएको छ ।

    घटनामा दुई जना घाइते भएका छन् भने करिब ७० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

    रूमेनियाको रक्षा मन्त्रालयका अनुसार ड्रोन पूर्वी सहर गालाट्सस्थित एक आवासीय भवनको छानामा ठोक्किएको थियो ।

    भवनको दशौँ तलामा आगलागी भएको र ड्रोनमा रहेका सबै विस्फोटक पदार्थ पड्किएको आपत्कालीन सेवा निकायले जनाएको छ ।

    रूसले युक्रेनको सीमावर्ती क्षेत्रमा आक्रमण गरिरहेका बेला उक्त ड्रोन बाटो बिराएर रूमेनियामा पुगेको बताइएको छ ।

    रूमेनिया नेटो सदस्य राष्ट्र हो ।

    युक्रेन युद्ध सुरु भएयता रूसी ड्रोनहरू पटक–पटक रूमेनियामा खस्ने घटना भए पनि यसपटक पहिलोपटक मानवीय तथा भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन् ।

    रूसले घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

    तर रुमेनियाले यसलाई गम्भीर र गैरजिम्मेवार कदम भन्दै आलोचना गरेको छ ।

    रक्षा मन्त्रालयले नेटोलाई घटनाबारे जानकारी गराइसकिएको र ड्रोन प्रतिरोधी क्षमता थप सुदृढ बनाउन सहयोग मागिएको जनाएको छ ।

    नेटोका प्रवक्ताले पनि सामाजिक सञ्जाल ‘एक्स’मार्फत रूसको लापरबाहीपूर्ण गतिविधिको आलोचना गरेका छन् ।

    घटनापछि रूमेनियाको आकाशमा देखिएका ड्रोनहरूको निगरानीका लागि दुईवटा एफ–१६ लडाकु विमान परिचालन गरिएको थियो ।

    मन्त्रालयका अनुसार तीमध्ये एउटा ड्रोनलाई रडारमार्फत गालाट्ससम्म ट्र्याक गरिएको थियो ।

    गालाट्स सहर ड्यानूब नदी किनारमा अवस्थित छ, जसले रूमेनिया र युक्रेनलाई छुट्याउँछ ।

    रूसले पछिल्लो समय नदी क्षेत्रका बन्दरगाहहरूलाई बारम्बार निशाना बनाउँदै आएको छ ।

    रूमेनियाको रक्षा मन्त्रालयका अनुसार सन् २०२२ मा युद्ध सुरु भएयता रूसी ड्रोन वा तिनका अवशेष ४७ पटक रूमेनियामा खसेका छन् ।

    यस वर्ष मात्र १२ वटा यस्ता घटना भइसकेका छन् ।

    यसैबीच, दक्षिणी युक्रेनको ओडेस्सा क्षेत्रमा रहेको इज्मईल बन्दरगाहमा शुक्रबार बिहान ड्रोन हमला भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    उता, रूसको नियन्त्रणमा रहेको डोनेट्स्क क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको रूसी पक्षले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images