काठमाडाैं- गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा भएको उक्त सम्बोधन शुक्रबार प्रसारण गरिएको हो।
सम्बोधनका क्रममा राष्ट्रपतिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना जनताको बलिदान, संघर्ष र त्यागको परिणाम भएको उल्लेख गर्दै संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय एकताको सुदृढीकरणमा सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।
राष्ट्रपतिले राजनीतिक स्थिरता, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई वर्तमान समयको मुख्य आवश्यकता भन्दै सरकार, राजनीतिक दल तथा नागरिक समाजलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। उनले युवापुस्ताको विदेश पलायन रोक्न रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरे।
सम्बोधनमा गणतन्त्रप्रति जनविश्वास अझ मजबुत बनाउन पारदर्शिता, उत्तरदायित्व र विकासमुखी शासन आवश्यक रहेको पनि औँल्याइएको थियो। राष्ट्रपति पौडेलले शहीदहरूको योगदानको सम्मान गर्दै लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्न सबै नेपाली एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरेका छन्।






















