काठमाडौं । कम्बोडिया सरकारले भिसाको अवधि समाप्त भइसकेपछि पनि त्यहाँ बसिरहेका ६०२ नेपाली नागरिकको जरिबाना तथा शुल्क मिनाहा गरेका छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलपछि कम्बोडिया सरकारले उक्त निर्णय गर्दै नेपालीहरूलाई स्वदेश फर्किन सहज बनाएको हो।
थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीका अनुसार जरिबाना मिनाहा भएका ६०२ नेपालीमध्ये हालसम्म ३०२ जना अझै कम्बोडियामै रहेका छन्। तीमध्ये करिब २५० जना स्वदेश फर्किने तयारीमा रहेका छन् भने ५२ जना अझै अटेरी गर्दै बसिरहेको जानकारी प्राप्त भएको उनले बताएका छन् ।
“अबको एक साताभित्र नफर्किने नेपालीहरू कम्बोडियाको नयाँ कानुनअनुसार कडा कारबाहीमा पर्न सक्छन्,” राजदूत वलीले चेतावनी दिएका छन्।
कम्बोडियामा भिसा अवधि समाप्त भएपछि बस्ने विदेशी नागरिकलाई दैनिक १० अमेरिकी डलर जरिबाना लाग्ने व्यवस्था छ। पछिल्ला केही महिनामा मात्रै नेपालीहरूले तिर्नुपर्ने आठ करोड रुपैयाँभन्दा बढी जरिबाना कम्बोडिया सरकारले मिनाहा गरिसकेको दूतावासले जनाएको छ।
यसैबीच, बैंककस्थित नेपाली दूतावासले शुक्रबार सूचना जारी गर्दै भिसा अवधि सकिएर पनि कम्बोडियामा रहेका सम्पूर्ण नेपालीलाई एक साताभित्र अनिवार्य रूपमा नेपाल फर्किन आग्रह गरेको छ।
कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानुनअनुसार अवैध रूपमा बस्ने विदेशी नागरिकलाई पक्राउ गरी कडा कारबाही गरिनेछ। उक्त कानुनमा अवैध अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्ने वा भिसा अवधि समाप्त भएपछि पनि बस्ने विदेशीलाई पाँच लाख अमेरिकी डलरसम्म जरिबाना र आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको छ।
राजदूत वलीका अनुसार आठ चरणमा ६०२ नेपालीको जरिबाना शुल्क मिनाहा गरिएको हो। तर पाँचौँ र छैटौँ चरणका ५२ जना नेपाली अझै कम्बोडियामै बसिरहेका छन्। जरिबाना तथा शुल्क मिनाहा भइसकेका नेपालीहरूले भने आफ्नो हवाई टिकटको व्यवस्था आफैँ गर्नुपर्नेछ। टिकट खरिद गरेपछि त्यसबारे कम्बोडियाको अध्यागमन विभागलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।
मानवतस्करहरूले विभिन्न प्रलोभनमा पारेर ठूलो संख्यामा नेपालीलाई कम्बोडिया पुर्याई अवैध अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्न बाध्य बनाउने गरेको पाइएको छ। बैंककस्थित नेपाली दूतावासले पछिल्ला दुई वर्षदेखि त्यस्ता नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने कार्य गर्दै आएको जनाएको छ।


विश्व खबर 




















