काठमाडौं– रास्वपाको आगामी महाधिवेशन नजिकिँदै जाँदा शीर्ष चार पद लगभग सर्वसम्मत हुने संकेत देखिएको छ ।
सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह, उपसभापतिमा स्वर्णिम वाग्ले र महामन्त्रीमा भूपदेव शाह दोहोरिने लगभग निश्चित भएको नेताहरू बताउँछन् ।
तर, बाँकी पदाधिकारी चयनलाई लिएर नेताहरूबीच आन्तरिक दौडधुप तीव्र बनेको छ ।
विशेषगरी २ उपसभापति र ३ सहमहामन्त्री पदका लागि आकांक्षीहरू सक्रिय छन् ।
इन्दिरा राना मगर, प्रतिभा रावल र लीमा अधिकारी उपसभापतिको चर्चामा छन् भने प्रवक्ता मनिष झा, दीपक बोहरा, सोविता गौतम र विपिन आचार्य महामन्त्री तहका दाबेदारका रूपमा देखिएका छन् ।
रास्वपाले यसपटक समावेशिता र क्षेत्रीय सन्तुलन मिलाउने चुनौती पनि सामना गरिरहेको छ ।
हाल पार्टी संरचनामा बागमती प्रदेशको वर्चस्व रहेको भन्दै महाधिवेशनमार्फत त्यसलाई सच्याउने तयारी भइरहेको नेताहरूको भनाइ छ ।
यता केही सांसद र स्थापित नेताहरू भने केन्द्रीय पदभन्दा प्रदेश तथा जिल्ला नेतृत्वमा बढी रुचि देखाइरहेका छन् ।
सांसद र मन्त्रीलाई पार्टी जिम्मेवारी दिने वा नदिने विषयमा समेत पार्टीभित्र छलफल जारी छ ।






















