काठमाडौं– गणतन्त्र दिवसका अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा हुने मूल समारोहमा हरेक वर्ष प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ ।
तर, यसपटक प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ मौन बस्ने निर्णयमा पुगेपछि राजनीतिक वृत्तमा अनेक प्रश्न उठ्न थालेका छन् ।
सरकारकै आग्रहमा यस वर्ष गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रपतिका सञ्चार विज्ञ किरण पोखरेलका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बिहान टुँडिखेल पुगेर राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।
तर, प्रधानमन्त्रीले सम्बोधन नगर्ने निर्णयले गणतन्त्रवादी वृत्तमै बहस र शङ्का उत्पन्न गरेको छ ।
२०६२र६३ को जनआन्दोलनका अगुवा तथा अधिकारकर्मी कृष्ण पहाडी प्रधानमन्त्री बालेनको पछिल्लो व्यवहारलाई लिएर चिन्तित देखिन्छन् ।
उनी भन्छन्, “राष्ट्रपतिले बोलिरहेका बेला उठेर हिँड्नु, संसद्मा नबोल्नु र अब गणतन्त्र दिवसमै पनि मौन बस्नु—यी सामान्य संकेत होइनन् ।”
पहाडीका अनुसार संसदीय लोकतन्त्रमा प्रधानमन्त्री केवल सरकार प्रमुख मात्र होइनन्, उनी लोकतान्त्रिक उत्तरदायित्वका प्रमुख वाहक पनि हुन् ।
त्यसैले संसद् र राष्ट्रिय समारोहजस्ता संवेदनशील मञ्चमा प्रधानमन्त्रीको मौनता अर्थपूर्ण रूपमा हेरिन थालेको छ ।
उनले अहिलेको कार्यपालिकामा अत्यधिक केन्द्रीकरण देखिएको टिप्पणी गर्दै अन्य मन्त्रीहरू “कठपुतलीजस्ता” बनेको आरोप लगाए ।
उनका अनुसार कार्यपालिका र संसद्मा एउटै केन्द्रको अत्यधिक प्रभाव बढ्दै जाँदा लोकतन्त्र निर्देशित प्रणालीतर्फ धकेलिन सक्छ ।
प्रधानमन्त्री बालेनको शैलीलाई उनले पूर्वराजा महेन्द्रको सत्ताकेन्द्रित प्रवृत्तिसँग समेत तुलना गरेका छन् ।
“राजा महेन्द्र जङ्गी पोसाकमा देखिन रुचाउनु हुन्थ्यो । अहिले कतै बालेन शाहमा पनि त्यस्तै शक्ति–मोह जाग्न थालेको त होइन भन्ने शङ्का पैदा भएको छ,” पहाडीले भने ।
यद्यपि उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताले सुशासनको अपेक्षा राखेको स्मरण गराउँदै प्रधानमन्त्रीलाई लोकतान्त्रिक मूल्यबाट विचलित नहुन आग्रह गरेका छन् ।
“विकृति हटाउनुस्, सुधार गर्नुस्, तर लोकतन्त्रविरोधी शक्तिको लौरो नबन्नुस्,” उनको चेतावनी छ ।
राजनीतिक टिप्पणीकार तथा संविधानसभा सदस्य श्याम श्रेष्ठ भने अहिले नै प्रधानमन्त्रीको गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाइहाल्ने अवस्थामा नरहेको बताउँछन् ।
तर, प्रधानमन्त्रीको निरन्तर मौनता भने चिन्ताजनक भएको उनको धारणा छ ।
“संसद्मा नबोल्नु ठूलो कुरा हो, गणतन्त्र दिवसमा नबोल्नु अर्को ठूलो कुरा हो,” श्रेष्ठ भन्छन्, “यो सामान्य राजनीतिक घटना होइन । लोकतन्त्रका लागि राम्रो संकेत पनि होइन।”
उनका अनुसार प्रधानमन्त्रीको स्वभाव कम बोल्ने र काममा केन्द्रित हुने हुन सक्छ ।
तर राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्रीले सार्वजनिक रूपमा धारणा राख्नु लोकतान्त्रिक उत्तरदायित्वको आधारभूत पक्ष हो ।
“यदि प्रधानमन्त्रीले नबोल्ने नीति लिएको हो भने त्यसको कारण जनतालाई स्पष्ट भन्नुपर्छ,” श्रेष्ठले भने, “नत्र प्रश्न उठिरहन्छ—प्रधानमन्त्री किन मौन छन् ?”
गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्नु स्वाभाविक भएको तर्क पनि उठिरहेको छ ।
राष्ट्रपति गणतन्त्रका संवैधानिक प्रतीक भएकाले उनले सम्बोधन गर्नु उपयुक्त हुने मत केहीको छ ।
तर, आलोचकहरूका अनुसार प्रश्न सम्बोधन कसले गर्यो भन्ने होइन, प्रधानमन्त्री किन निरन्तर सार्वजनिक उत्तरदायित्वबाट टाढिँदै छन् भन्ने हो ।
त्यसैले अहिलेको बहस केवल एउटा समारोहको सम्बोधनमा सीमित छैन ।
प्रश्न प्रधानमन्त्री बालेनको राजनीतिक शैली, लोकतान्त्रिक संस्कारप्रतिको दृष्टिकोण र सार्वजनिक उत्तरदायित्वप्रतिको उनको बुझाइसँग जोडिएको छ ।
प्रधानमन्त्री मौन रहिरहे, शङ्का अझ गहिरिँदै जाने देखिन्छ । –बीबीसी नेपाली






















