काठमाडाैं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार (जेठ १५) गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीलाई सच्याउँदै राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका हुन् ।
उनले भनेका छन्, “जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो ।”
देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आमनागरिकबीच एकता आवश्यक रहेको प्रचण्डले औँल्याएका छन् । सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण गर्नु साझा राष्ट्रिय संकल्प रहेको उनको भनाइ छ । नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुन उनले आग्रह गरेका छन् ।






















