काठमाडौं– शिक्षा तथा मानवस्रोत विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि विद्यालयमा न्यूनतम १९५ दिन पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।
शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा कायम गरिएपछि नियमित १८४ दिन र ११ दिन वर्षे बिदासहित १९५ दिन विद्यालय सञ्चालन गर्ने व्यवस्था गरिएको हो ।
केन्द्रले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयमा उक्त व्यवस्था लागू गरिएको जनाएको छ ।
केन्द्रका उपमहानिर्देशक महेन्द्रप्रसाद पराजुलीका अनुसार यस शैक्षिक सत्रदेखि विद्यालयमा न्यूनतम १ हजार २४ पाठ्यघण्टा कायम गरिएको छ ।
उहाँका अनुसार नियमित पठनपाठनबाहेक ७९ घण्टा ‘लचक समय’ का रूपमा छुट्याइएको छ ।
उक्त समयमा परियोजना कार्य, प्रयोगात्मक गतिविधि तथा अन्य सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
पराजुलीले अधिकांश विद्यालयले दुई दिने सार्वजनिक बिदा पूर्ण रूपमा कार्यान्वयन गरिसकेको जानकारी दिँदै केही स्थानीय तहले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यार्थी र अभिभावकबाट गुनासो आएपछि अहिले आइतबार पूर्ण रूपमा बिदा गरिएको बताए ।
केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने नेतृत्वको कार्यदलले दिएको सिफारिसका आधारमा कार्यदिन र पाठ्यघण्टा निर्धारण गरिएको हो ।
महानिर्देशक न्यौपानेले सरोकारवाला निकायसँगको छलफल र सुझावका आधारमा नयाँ मापदण्ड तय गरिएको जानकारी दिए ।
उनका अनुसार पाठ्यक्रम विकास केन्द्रले सोही आधारमा नयाँ पाठ्यक्रम तयारी गरिरहेको छ ।
यसअघि शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले दुई दिने बिदाबाट पठनपाठनमा पर्ने असर व्यवस्थापन गर्न कार्यघण्टा निर्धारण गरेको थियो ।
मन्त्रालयको निर्णयलाई शिक्षा तथा मानवस्रोत विकास केन्द्रले ६ बुँदे सर्कुलरमार्फत विद्यालय, स्थानीय तह र जिल्ला तहमा कार्यान्वयनका लागि पठाएको थियो ।
निर्देशनअनुसार विद्यालयहरूले प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय छुट्याएर सोमवारदेखि शुक्रवारसम्म पूर्ण समय पठनपाठन सञ्चालन गरिरहेका छन् ।
साथै, साप्ताहिक रूपमा समुदाय, परिवार, सूचना प्रविधि तथा सन्दर्भ सामग्रीमा आधारित बहुविषयक परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन गर्ने र आवश्यकताअनुसार शुक्रवार प्रस्तुति गर्ने व्यवस्था गरिएको छ ।
महानिर्देशक न्यौपानेले केन्द्रले स्थानीय तथा प्रदेश सरकारसँगको समन्वयमा शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको खाका पनि तयार गरिरहेको जानकारी दिए ।
उनका अनुसार करिब ६ सय विद्यालय समायोजन र २० हजार प्राथमिक तहका शिक्षकको दरबन्दी मिलान प्रक्रियामा रहेको छ ।
अब प्राथमिक तहका शिक्षकको नयाँ दरबन्दी सिफारिस नगर्ने तयारी केन्द्रले गरेको उनले बताए ।





















