images
images
  • बादल–महेश बस्नेतबाहेक कसैले च्यापेनन् ओलीको हात, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन गर्नैपर्ने पक्षमा बलियो मत

    काठमाडौं– नेकपा (एमाले)भित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असन्तुष्टि तीव्र बन्दै गएको छ ।

    सचिवालय बैठकमै ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि उनीमाथि राजनीतिक दबाब बढेको हो ।

    भक्तपुरको गुण्डुस्थित निवासमा ४ जेठदेखि जारी सचिवालय बैठकमा अधिकांश नेताले अब पार्टी पुरानै शैलीमा चल्न नसक्ने निष्कर्ष निकाल्दै नेतृत्व हस्तान्तरणको आवश्यकता औँल्याएका छन् ।

    पदाधिकारी तहबाटै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएपछि एमालेभित्रको शक्ति सन्तुलन बदलिन थालेको देखिएको छ ।

    निर्वाचनमा पार्टीले बेहोरेको कमजोर परिणाम, संगठनभित्र बढ्दो असन्तुष्टि र नेतृत्व शैलीप्रतिको आलोचनाले ओली रक्षात्मक बनेका छन् ।

    नेताहरूले निर्वाचनको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने र पार्टी पुनर्गठन आवश्यक रहेको धारणा राखेका छन् ।

    सचिवालय बैठकमा आफू अल्पमतमा परेको संकेत पाएपछि ओलीले अब अन्तिम निर्णय केन्द्रीय कमिटीबाट गराउने तयारी गरेका छन् ।

    एमाले स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईसहितका नेताहरूले ओलीले सम्मानजनक रूपमा पद छाड्नुपर्ने धारणा राखेका छन् ।

    सचिवहरू खगराज अधिकारी, पद्मा अर्याल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्कीलगायत नेताहरूले पनि नेतृत्व परिवर्तनको पक्षमा मत व्यक्त गरेको बताइएको छ ।

    यता उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहासचिव लेखराज भट्ट, सचिव महेश बस्नेत, यामलाल कँडेल र भानुभक्त ढकाललगायत नेताहरू भने ओलीको पक्षमा उभिएका छन् ।

    उनीहरूले अहिले नेतृत्व परिवर्तन गर्दा पार्टी झन् कमजोर बन्न सक्ने तर्क गरेका छन् ।

    २१ फागुनको निर्वाचनमा एमालेले अपेक्षाअनुसार परिणाम ल्याउन नसकेपछि युवा र विद्यार्थी पंक्तिबाट पुस्तान्तरणको माग उठ्न थालेको थियो ।

    त्यसयता पार्टीभित्र ओलीको विकल्प खोज्ने बहस तीव्र बनेको हो ।

    विगतमा ओलीका सबैभन्दा विश्वासिला मानिएका विष्णु पौडेल र शंकर पोखरेलबीच बढ्दो सहकार्यले ओली थप एक्लिँदै गएको चर्चा एमाले वृत्तमा छ ।

    पार्टीभित्र शंकर पोखरेललाई भावी अध्यक्षका रूपमा अघि सार्ने तयारी भइरहेका बेला ओलीले समानान्तर रणनीति बनाउन थालेका छन् ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गराउने निर्णयलाई पनि त्यसैको हिस्सा मानिएको छ ।

    यसअघि रोकिएको सदस्यता पुनः सक्रिय गरिनुलाई ओलीले आफ्नो पक्ष मजबुत बनाउन खोजेको संकेतका रूपमा हेरिएको छ ।

    त्यससँगै ओलीले नेकपा पुनः एकताबारे आफू निकट नेताहरूसँग छलफल अघि बढाएको चर्चा पनि एमालेभित्र छ ।

    विष्णु–शंकर समूहको प्रभाव रोक्न पार्टी एकतालाई राजनीतिक अस्त्रका रूपमा प्रयोग गर्न खोजिएको विश्लेषण भइरहेको छ ।

    ‘म नेतृत्व छाड्दिनँ’

    सचिवालय बैठकमा बढ्दो दबाबबीच ओलीले भने आफू नेतृत्व नछाड्ने स्पष्ट संकेत दिएका छन् ।

    बैठकमा उनले आफूलाई हटाउने हो भने पार्टीको विधि र प्रक्रिया अनुसार अघि बढ्नुपर्ने बताएका थिए ।

    “राष्ट्रिय महाधिवेशन भएको ६ महिना पनि भएको छैन । फेरि महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने ? केही महिनाअघि मात्रै भएका तहगत अधिवेशनको के गर्ने ?”

    भन्दै ओलीले विषय केन्द्रीय कमिटीमा लैजानुपर्ने अडान राखेका थिए ।

    बैठकमा उनले “मलाई धेरै नसम्झाउनुस्, म नेतृत्व छाड्दिनँ” भन्दै नेताहरूलाई चेतावनीसमेत दिएको स्रोतको दाबी छ ।

    साथै पार्टीलाई फेरि मजबुत अवस्थामा फर्काउन आफू सक्षम रहेको दाबी पनि उनले गरेका छन् ।

    अष्टलक्ष्मी शाक्यको सुझाव

    एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पनि अध्यक्ष ओलीलाई सम्मानजनक रूपमा पद छाड्न सुझाव दिएकी छन् ।

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर बनेको टिप्पणी गरेकी हुन् ।

    लगातार तीन कार्यकाल नेतृत्व गरिसकेपछि अब युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ ।

    “सधैँ अध्यक्ष भइरहने सोच उचित होइन,” भन्दै उनले यही बैठकबाट मार्गप्रशस्त गर्न ओलीलाई आग्रह गरेकी छन् ।

    ११औँ महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलले पनि सामाजिक सञ्जालमार्फत नेतृत्व परिवर्तनको आवश्यकता औँल्याइसकेका छन् ।

    एमालेभित्र अहिले पुस्तान्तरण, संगठन सुदृढीकरण र नेतृत्व शैलीबारे खुला बहस सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images