images
images
  • एनसेलको पब्लिक कम्पनी बनाउने प्रक्रियामै विवाद, सरकारलाई बुझाइएको प्रतिवेदन रातारात गायब

    काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने क्रममा कानुनी व्यवस्थालाई छल्ने गरी अस्वाभाविक प्रक्रिया अपनाएको खुलासा भएको छ ।

    पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित छानबिन समितिले एनसेललाई पब्लिक कम्पनी बनाउने प्रक्रियामा गम्भीर अनियमितता र कानुनी प्रश्न देखिएको निष्कर्ष निकालेको हो ।

    प्रतिवेदनअनुसार, १९ साउन २०७७ मा तत्कालीन एनसेल प्रालिलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्दा कम्पनीले नाम मात्रका सेयरधनी थपेर कानुनी प्रावधान पूरा गरेको देखिन्छ ।

    कम्पनी ऐनअनुसार ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले २०७८ वैशाखभित्र पब्लिक कम्पनीमा रूपान्तरण हुनुपर्ने व्यवस्था थियो ।

    तर एनसेलले वास्तविक सार्वजनिक लगानी नखोली आफ्नै कर्मचारीहरूलाई सीमित सेयर बाँडेर प्रक्रिया पूरा गरेको प्रतिवेदनमा उल्लेख छ ।

    ११ कित्ता सेयर बाँडेर ‘पब्लिक कम्पनी’

    छानबिन समितिका अनुसार, एनसेलले सात जना कर्मचारीलाई जम्मा ११ कित्ता सेयर हस्तान्तरण गरेर कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरेको थियो ।

    कसैलाई एक कित्ता र कसैलाई दुई कित्ताका दरले सेयर दिइएको देखिन्छ ।

    ती कर्मचारीमा लेनाकेशरी कंसाकार, कविन मूल, समिरराज गौतम, कञ्चनसिंह कार्की, सम्पन्नराज भट्ट, ज्योति दाहाल र उमा महर्जन रहेका छन् ।

    समितिले यस्तो अभ्यासलाई अस्वाभावि भन्दै थप अनुसन्धान आवश्यक रहेको औँल्याएको छ ।

    प्रतिवेदनमा भनिएको छ, “कम्पनीकै कर्मचारीलाई न्यूनतम सेयर वितरण गरेर पब्लिक लिमिटेड बनाइएको प्रक्रिया स्वाभाविक देखिँदैन ।”

    हाल एनसेलमा रेनोल्ड होल्डिङको ७९.९९ प्रतिशत र सतीशलाल आचार्यकी पत्नी भावना सिंह श्रेष्ठको लगानी रहेको सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिको १९.९९ प्रतिशत सेयर स्वामित्व छ । बाँकी ०.००११ प्रतिशत सेयर कर्मचारीहरूको नाममा रहेको छ ।

    २० प्रतिशत स्वदेशी लगानीमै प्रश्न

    प्रतिवेदनले एनसेलको २० प्रतिशत स्वदेशी लगानीसम्बन्धी व्यवस्थामाथि पनि प्रश्न उठाएको छ ।

    समितिका अनुसार, उक्त सेयर सुरुमा उपेन्द्र महतोले खरिद गरेका थिए ।

    पछि उनले त्यो सेयर निरज वैद्यलाई हस्तान्तरण गरेका थिए ।

    तर सेयर खरिदका बेला उनीहरूको नागरिकता नेपाली थियो वा गैरआवासीय नेपाली भन्ने विषय स्पष्ट नभएको भन्दै समितिले यसमा गम्भीर कानुनी प्रश्न उठाएको छ ।

    प्रतिवेदनमा भनिएको छ, यदि उनीहरू नेपाली नागरिक नरहेको अवस्थामा सेयर खरिद गरिएको हो भने त्यो दूरसञ्चार नीति, २०६० विपरीत हुन सक्छ ।

    अर्को पक्षमा, यदि उनीहरू नेपाली नागरिक थिए भने उनीहरूले विदेशी लगानी तथा ऋणसम्बन्धी कारोबार गरेको अवस्था विदेशी विनिमयसम्बन्धी कानुनसँग बाझिन सक्ने समितिको निष्कर्ष छ ।

    पछिल्लो सेयर बिक्रीपछि चर्कियो विवाद

    एनसेलको स्वामित्व हस्तान्तरण विवाद १५ मंसिर २०८० मा थप चर्किएको थियो ।

    त्यसबेला एक्जीयाटा ग्रुपले आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई हस्तान्तरण गरेको थियो ।

    तर सेयर बिक्रीको निर्णय र कारोबार सम्पन्न भइसकेपछि मात्रै १२ फागुन २०८० मा नेपाल टेलिकम अथोरिटीसमक्ष स्वीकृतिका लागि निवेदन दिइएको खुलेको थियो ।

    पछि १५ चैत २०८० मा प्राधिकरणले स्वामित्व हस्तान्तरणको अनुमति दिन अस्वीकार गर्‍यो ।

    हाल यो विषय अदालतमा विचाराधीन छ ।

    त्यसअघि नै संसद्को सार्वजनिक लेखा समितिले २० मंसिर २०८० मा सेयर खरिद–बिक्री रोक्न निर्देशन दिएको थियो ।

    त्यसपछि २१ मंसिरमा टंकमणि शर्मा दंगालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

    समितिले १५ माघ २०८० मा सरकारलाई प्रतिवेदन बुझाए पनि प्रतिवेदन हालसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

    यस प्रकरणमा संसद्को अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समेत चासो देखाउँदै कर, गैरकर तथा स्वामित्व हस्तान्तरणका विषयमा विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images