images
images
  • नेपालले भारत पढेका विद्यार्थीहरूलाई पत्याएन

    काठमाडौं– भारतको मणिपुरस्थित सङ्गाई इन्टरनेसनल युनिभर्सिटीबाट अध्ययन गरेका ९८ जना नेपाली विद्यार्थीको शैक्षिक उपाधि विवादमा परेको छ ।

    त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले उनीहरूको उपाधिको वैधता पुष्टि गर्न ३५ दिनभित्र प्रमाण पेश गर्न अल्टिमेटम दिएको हो ।

    भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ मे १५ मा उक्त विश्वविद्यालयलाई आफ्नो मान्यताप्राप्त सूचीबाट हटाउँदै त्यहाँबाट जारी गरिएका शैक्षिक उपाधिहरूलाई उच्च शिक्षा र सरकारी रोजगारीका लागि अवैध घोषणा गरेको थियो ।

    उक्त विश्वविद्यालयमा अध्ययन गरेका ९८ जना नेपालीले समकक्षता प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएका थिए ।

    सोही निवेदनमाथि छानबिन गर्दै पाठ्यक्रम विकास केन्द्रले सम्बन्धित विद्यार्थीहरूको नाम, ठेगाना र अध्ययन विषय सार्वजनिक गरेको छ ।

    केन्द्रले जारी गरेको सूचनामा ३५ दिनभित्र समकक्षता प्रमाणपत्रको सक्कल प्रति तथा उपाधिको वैधता पुष्टि हुने कागजातसहित लिखित रूपमा उपस्थित हुन भनिएको छ ।

    तोकिएको समयभित्र प्रमाण पेश नगरेमा ती उपाधिहरू अमान्य हुने संकेत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images