काठमाडौं– हामी नेपालीका संस्थापक सुधन गुरूङले जेनजी आन्दोलनपछि आफू गृहमन्त्री बन्नुभन्दा पाँच दिन अघिसम्म करिब ५० दिनभित्र धितोपत्र बजारमा ५० लाख रूपैयाँभन्दा बढीको सेयर किनेको विवरण फेला परेको छ। गृहमन्त्री गुरूङले २०८२ माघ १५ बाट चैत ८ गतेसम्म ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर किनेका छन्।
यसबाट जेनजी आन्दोलनको पाँच महिनापछि उनले दोस्रो बजारमा सेयर किन्न थालेको देखिन्छ। फागुन २१ को चुनाव सकेर गृहमन्त्री नियुक्त हुनुभन्दा पाँच दिनअघिसम्म उनी सेयर खरिदमा सक्रिय छन्। त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान क्रममा पक्राउ परेका दीपक भट्ट समूहको कम्तिमा दुईवटा लघु बिमा कम्पनीमा पनि गृहमन्त्री गुरूङ ५० लाख रूपैयाँको संस्थापक सेयर लगानीकर्ता रहेको खुलेको छ। आफ्नो स्वामित्वमा रहेका यी सेयरहरूका बारेमा गृहमन्त्री गुरूङले सम्पत्ति विवरणमा प्रस्ट खुलाएका छैनन्।
बालेन शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका सुधन फागुन २१ को निर्वाचनमा गोरखा–१ बाट विजयी भएका थिए। रास्वपाले करिब दुई–तिहाइ बहुमत ल्याएपछि चैत १३ गते प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार बनेको थियो। सुधन गुरूङले पनि गृहमन्त्रीका रूपमा त्यसै दिन शपथ लिएका थिए।
हामीलाई प्राप्त सेयर खरिदको विवरण अनुसार गुरूङले दोस्रो बजारबाट १० पटकमा ५३ लाख रूपैयाँभन्दा बढीको सेयर किनेका छन्। उनले पहिलो पटक २०८२ माघ १५ गते ७ लाख ९० हजार रूपैयाँको सेयर किनेको देखिन्छ। त्यसै दिन फेरि ७ लाख ८८ हजार रूपैयाँको सेयर किनेका थिए। त्यसपछि माघ २७ गते १६ लाख १७ हजार रूपैयाँको सेयर किनेको हामीलाई प्राप्त विवरणमा छ।

उनले चौथो पटक सेयर किनेको गृहमन्त्री हुनुभन्दा पाँच दिनअघि चैत ८ गते हो। त्यो एकै दिन उनले ७ वटा कारोबार गरेको देखिन्छ। उनले ९ लाख १५ हजार, १ लाख ५२ हजार ६१०, १ लाख ८३ हजार १२०, २२ हजार ९२०, ७६ हजार ४९५, ४५ हजार ९०० र ७ लाख ४२ हजार ५३५ रूपैयाँको सेयर खरिद गरेका थिए।
उनले यी सबै सेयर कारोबार ‛नासा सेक्युरिटिज’ भन्ने ब्रोकर कम्पनीबाट गरेका छन्। नासा सेक्युरिटिजकै स्रोत अनुसार गुरूङले यो सबै सेयर एउटै कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेडको किनेका हुन्। उनले यसअघि दोस्रो बजारमा कहिल्यै सेयर किनेका थिएनन्।
सुधन गुरूङले गृहमन्त्रीका रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्दा आफ्नो स्वामित्वमा रहेको सेयर विवरण पनि खुलाएका थिए। त्यसमध्ये होप होल्डिङ्स प्रालिमा ३० लाख रूपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन् भने लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन्। त्यस्तै, एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन्। उनले पूर्ण विवरण खुलाएका यी तीनैवटा कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छैनन्।
त्यसबाहेक धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर रहेको विवरण गुरूङले दिएका छन्। यो भनेको स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको मूल्य हो। गृहमन्त्री गुरूङले धितोपत्र बजारमा कारोबार हुने यी कम्पनी कुन–कुन हुन् भनेर आफ्नो सम्पत्ति विवरणमा भनेका छैनन्।
उनले पूर्ण विवरण नखुलाएका सेयरमध्ये ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर दोस्रो बजारबाट किनेका हुन् भने बाँकी २ करोड २१ लाख २२ हजार ६२० रूपैयाँको सेयर प्राथमिक बजारबाट वा संस्थापक सेयर किनेका हुन्। कम्पनीले साधारण सेयर निष्कासन गर्दा किनेको सेयरलाई प्राथमिक बजारबाट किनेको भनिन्छ। सुधन गुरूङका हकमा भने प्राथमिक बजारभन्दा संस्थापक सेयरकै स्वामित्व बढी रहेको स्रोतको दाबी छ।
यति मात्र होइन, गृहमन्त्री गुरूङ सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा पक्राउ परेका दीपक भट्ट र शंकर समूहको लगानी रहेको कम्तिमा दुईवटा लघु बिमा कम्पनीमा सेयर लगानीकर्ता रहेको खुलेको छ।
यी दुवैको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो इन्स्योरेन्समा २५–२५ लाख रूपैयाँ गरी ५० लाख रूपैयाँको सेयर रहेको विवरण केही समयअघि सार्वजनिक गरेको थियो। यसमध्ये स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरूङको २५ लाख रूपैयाँ बराबर सेयर रहेको विवरण सार्वजनिक गरेको छ।
सुधन गुरूङ सञ्चालक रहेको ’हामी नेपाली’ संस्थासँग दीपक भट्ट र शंकर समूहको संलग्नता यसअघि नै सार्वजनिक भइसकेको छ। सुधन गुरूङले नै दीपक भट्ट (इन्फिनिटी होल्डिङ्सका अध्यक्ष), सुलभ अग्रवाल (शंकर ग्रुपका उपाध्यक्ष), साहिल अग्रवाल (शंकर ग्रुपका प्रबन्ध निर्देशक) लगायतले हामी नेपाली संस्थामा सहयोग गरेको विवरण सार्वजनिक गरेका थिए।
विगतमा विभिन्न व्यवसायमा संलग्न रहेको भए पनि पछिल्लो समय पूर्ण रूपमा समाजसेवामा लागेको बताउँदै आएका सुधनले यति ठूलो सेयर लगानी गर्न कहाँबाट पैसा ल्याए भन्ने प्रश्न छ। गुरूङ आफैले भने व्यवसाय, पैतृक सम्पत्ति र लगानीबाट सेयर किनेको विवरण दिएका छन्।
हामीले गृहमन्त्री गुरूङसँग उनले सरकार बन्नु पाँच दिनअघिसम्म दोस्रो बजारमा गरिरहेको सेयर खरिददेखि दीपक भट्टको कम्पनीमा लगानी र भट्टसँग व्यावसायिक साझेदारीलाई लिएर उठेका प्रश्न सोध्न सम्पर्क गरेका थियौं। तर उनीसँग सम्पर्क हुन सकेन।

विवादित ब्यापारी दिपक भट्ट–शंकर समुहसँग गृहमन्त्री सुधन गुरुङको ‘पार्टनरसिप’
सम्पत्ति सुद्धिकरण सम्बन्धी अपराधको अभियोगमा हाल सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागको अनुमतिले ललितपुरको पुल्चोकस्थित प्रहरी हिरासतमा रहेका भट्ट समुहसँग गृहमन्त्री सुधन गुरुङको समेत साझेदारी देखिएको हो ।
२०७९ सालमा तत्कालिन माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जर्नाजन शर्माले विवादित ब्यापारी (विचौलिया) दिपक भट्ट जगदम्वा समुह साहिल अग्रवालको समुहलाई पोस्ने गरी नेपाल विमा प्राधिकरणले ७ वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।
दिपक भट्टको दबावमा शंकर समुह, ईन्फिनिटी होल्डिङ, शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारका, हरि न्यौपाने, किशनलाल दुगड, आरएमसी जस्तापाता, राजेश अग्रवाल लगायतलाई फाइदा पुग्ने गरी ७ लघु बीमा कम्पनिले लाइसेन्स पाएका थिए । यसरी लाइसेन्स पाउने मध्ये एक हो, स्टार माइक्रो इन्स्योरेन्स कम्पनि लिमिटेड ।
सुजन आचार्य अध्यक्ष रहेको यो कम्पनिमा ४ जना संचालक छन् । संचालक रहेकी प्रजुनी बज्राचार्य भट्टकै स्वामित्व रहेको ईन्फिनिटी होल्डिङको कर्मचारी हुन् । उनी समेत संचालक रहेको कम्पनिमा ५७ जना सेयर होल्डर छन् । दिपक भट्टसँग विवादास्पद कारोबारमा मुछिएको शंकर समुहको स्वामित्व रहेको जगदम्बा ईन्टरप्राइजेजको यो कम्पनिमा २५ लाख रुपैयाँ बराबरको शेयर रहेको छ ।
त्यति नै रकम अर्थात २५ लाख रुपैयाँ बराबरको शेयर हालका गृहमन्त्री सुधन गुरुङको समेत रहेको तथ्य भेटिएको हो । ४९ नम्बरमा नाम रहेका गुरुङको स्थायी ठेगाना चुमुनुब्री वडा नम्बर २ रहेको सेयर लगतमा उल्लेख छ । उनको बाबुको नाम दिलबहादुर गुरुङ उल्लेख छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको गृहमन्त्री सुदन गुरुङका व्यक्तिगत विवरण र दिपक भट्टको समुह र शंकर समुहसँग साझेदारी रहेको सेयर लगतमा रहेको व्यक्तिगत विवरण मिल्दोजुल्दो छ । तर, गुरुङले यो भट्ट समुह र अग्रवाल समुहको यो लघु विमामा रहेको सेयर रकम भने आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन् ।
सरकारले न्युन आय भएको जनताको बीमामा पहुँच पुर्याउने नाममा तत्कालिन अर्थमन्त्री जर्नाजन शर्मा र विमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले भट्ट समुह र अग्रवाल घारानालाई मात्रै फाइदा पुग्ने गरि ७ लघु बिमा कम्पनिको लाइसेन्स वितरण गरेको थियो । लाईसेन्स दिने सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही समयमा सेटिंगमा लिइएको लाइसेन्सवाला कम्पनिमा गृहमन्त्रीको साझेदारी देखिएको हो ।
कम्पनि रजिष्ट्रार कार्यालय स्रोतबाट प्रमाण अनुसार यो कम्पनिमा अधिकांश लगानीकर्ता भट्टकै तर्फबाट विभिन्न कम्पनिमा प्रतिनिधित्व गर्नेहरुको छ । दिपक भट्ट मुछिएको विवादास्पद कम्पनि हिमालयन लाईफ ईन्स्योरेन्सका तत्कालिन प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णकी छोरी अदिति कर्णको नाममा २ लाख रुपैयाँ बराबरको शेयर रकम रहेको शेयर लगतमा देखिन्छ ।
दिपक भट्टका लागि अर्थमन्त्रालयमा बसेर करका दर हेरफेर गरेको अभियोग लागेका तत्कालिन सुब्बा रघुनाथ घिमिरेको छोरी रशा घिमिरेको नाममा पनि १ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ । सुब्बा घिमिरे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड १४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा समेत दायर गरेको थियो ।
सम्पत्ति सुद्धिकरण कसुरमा पक्राउ परि छुटेका शंकरलाल अग्रवालको बहिनी रेनु अग्रवालकी कान्छि बुहारी श्रेया रुङ्गटाको नाममा रहेको लुबुचे ईन्भेष्टमेन्टको १५ प्रतिशत सेयर स्टार माइक्रो ईन्स्योरेन्समा छ ।
स्टारका प्रमुख दुई लगानीकर्ता मध्ये घान्द्रुक इन्भेस्टमेन्टको १५ प्रतिशत शेयर स्वामित्व देखिन्छ । २०७९ भदौ ३० मा दर्ता लोबुचे इन्भेस्टमेन्ट श्रेया रुङ्गटाको नाममा छ । श्रेयाका पति आयुष गुप्ता जगदम्बा ग्रुपको कार्यकारी निर्देशक रहेको शंकर समूहको आधिकारिक वेबसाइटबाट खुल्छ । घान्द्रुक इन्भेस्टमेन्ट रेनुकै नाममा छ । स्टार लघु बीमाको अर्को लगानीकर्ता जगदम्बा इन्टरप्राइजेजमा रेनुसहित रमेश अग्रवाल र अनिल रुङ्गटाको शेयर स्वामित्व छ । वेभसाइटमै जगदम्बा स्टिल उत्पादक कम्पनि जगदम्बा ईन्टरप्राइजेजको स्वामित्व शंकर समुहको रहेको देखिन्छ ।
दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले फरार सूचीमा राखि अभियोग पत्र दर्ता भएका यति समुहका अध्यक्ष लाक्पा सोनाम शेर्पा पनि यो कम्पनिका शेयर होल्डर हुन् ।
त्यस्तै २५ करोड रुपैयाँ भन्दा बढि राजश्व छलीमा मुछिएर अनुसन्धानमा रहेको भगवती लामिनेट्स प्रा.लीका संचालक रजनीश करनानी पनि गृहमन्त्री गुरुङका व्यावसायीक साझेदार हुन् । करनानीको १० लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । नेपाल प्रहरीका पूर्व एआइजी हरि बहादुर पालको नाममा पनि १ लाख रुपैयाँको सेयर यो कम्पनिमा रहेको छ । विचौलिया भट्टकै नातेदार रामचन्द्र भट्टपनि गृहमन्त्री गुरुङका साझेदार हुन् । उनको पनि यो कम्पनिमा ५ लाख रुपैयाँको शेयर देखिन्छ ।
जेनजी आन्दोलनमा गत भदौ २३ गते शान्तिपूर्ण रुपमा सडकमा आएका जेनजी पुस्ताका बालबालीकामाथि तत्कालिन सरकारले बर्बर दमन गरेको थियो । सोही आन्दोलनमा सहभागी भएका सुधन गुरुङ भदौ २४ गते जेनजीको तर्फबाट नेपाली सेनासँग वार्ताका लागि अग्रसर भएका पात्र हुन् ।
उनकै गुरुङकै आदेशमा पूर्वप्रधानन्यायधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार बनेको थियो । त्यसपछि एकाएक चर्चामा आएका गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वार्ता गराउन सक्रिय थिए । उनकै जोडबलमा पूर्व उर्जामन्त्री कुलमान घिसिङलाई समेत वार्ता र सहमतिका लागि कोशिस भएका थिए । तर, घिसिङ रास्वपामा गएपनि फेरी पुरानै आफ्नो पार्टी उज्यालो नेपालमा फर्किए ।
यता गुरुङ, लामिछाने र शाहसहितको एकतामा गत फागुन २१ मा रास्वपा चुनावमा होमिएको थियो । गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवार बनेका गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि उनी एकाएक गृहमन्त्री बनेका थिए ।
गृहमन्त्री हुनेवित्तिकै ‘स्टन्ड’मा उत्रिएका उनकै निर्देशनमा जेनजी आन्दोलनमा चरम दमन गर्ने पूर्व प्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए । मृतक परिवारलाई न्यायको वास्तविक अनूभूति दिनुको सट्टा गृहमन्त्रीकै ‘स्टन्ड’का कारण आम नरसंहार जस्तो गम्भिर अपराधमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले उन्मुक्ति पाएका छन् ।
आर्थिक सुशासनको मागसहित विचौलिया नियन्त्रित अर्थतन्त्रको विरोधमा सडकमा उत्रिएको जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै गृहमन्त्री नियुक्त भएका गुरुङ नै विचौलिया संलग्न रहेको कम्पनिको साझेदार देखिएका छन् ।
उनको नेतृत्वको हामी नेपाल नामक संस्थामा पनि सबैभन्दा ठूलो दाताको रुपमा शंकर समुह नै देखिन्छ । सोही शंकर समुह र भट्टको समुह जोडिएको कम्पनिमा गुरुङको समेत साझेदारी देखिएपछि बालेन नेतृत्वको सरकारमाथि नैतिक प्रश्न समेत खडा भएको छ । गृहमन्त्री गुरुङले सम्पत्ति विवरणबारे प्रश्न उठेपछि ‘ गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो’ भन्ने प्रतिक्रिया दिएका थिए ।


विश्व खबर 















