काठमाडौं- विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ ।
गत चैत २० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सबै विश्वविद्यालयका उपकुलपतिहरूले निर्णयमा हस्ताक्षर गरेका छन् ।
‘क्याम्पस तथा विश्वविद्यालयहरूको परीक्षाफल प्रकाशनलाई पूर्वानुमान योग्य बनाउन विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालयको नतिजा पोर्टल निर्माण गर्ने र परीक्षाफल प्रकाशन भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने व्यवस्था गर्ने निर्णय गरियो,’ निर्णयत्र पत्रमा भनिएको छ ।
उच्चशिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई प्रभावकारी कार्यान्वयनको लागि परिस्कृत गर्न विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा एक समिति गठन गर्ने र उक्त समितिले १५ दिनभित्र क्यालेन्डर पेश गर्ने निर्णय पनि भएको छ ।
विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र मोबाइल एप/नागरिक एप वा इमेलमा डाउनलोड गर्न मिल्ने बनाउन विश्वविद्यालयले आवश्यक एपरपोर्टल तयार गरी नागरिक एपसँग जोडने कार्य १५ दिन भित्र मिलाउने निर्णय भएको छ ।


विश्व खबर 




















