काठमाडौं- काठमाडौंको सुन पसलको बिल, त्यो पनि नक्कली, बिलअनुसार सुनका गहना, त्यो पनि नक्कली । तर ग्रामीण भेगका सुन पसलमा समेत पुगेर समस्या देखाउँदै नगद लिएर फरार र सम्पर्कविहीन, यो चैँ सक्कली ।
टिकटकमा हाँसिखुसी भिडियो बनाउने एउटा समूहले काठमाडौँको सुन पसलको नक्कली बिल बनाएर काठमाडौँ बाहिरका सुन पसलमा समेत ठगी गरेको घटना बाहिर आएको छ ।
मकवानपुरको बागमती-४ झुरझुरेका २४ वर्षिय दिनेश रसाइली आफै सुन व्यवसायी हुन् ।
लम्कना सुनचाँदी पसलका सञ्चालक उनी यस्तै गिरोहबाट ठगीमा परेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर आएर उजुरी गरेका छन् ।
उनले रौतहटको चन्द्रपुर–३, चपुर गैडाटारकी २० वर्षिया रमिला परियार र दाङ, गढ़वा–८ खोइलाबासकी माया मगर भनिने आरती गुरुङबाट आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।
नक्कली सुनका गहना
झुरझरेस्थित लम्कना सुन चाँदी पसलका सञ्चालक रहेका रसाइली कहाँ चैत ३० गते बिहान ९ बजे रमिला परियार र माया मगर भनिने आरती गुरुङ आएका थिए ।
उनीहरुले बागमतीकै बेतिनीस्थित माइतीघरमा मातातीर्थ औँसी मान्न आएको र भएको नगद सकिएकाले रकम आवश्यक परेको भनेर सुनको तिलहरी खरीद गरी तिलहरी बराबरको रकम दिन भनेको सञ्चालक रसाइली बताउँछन् ।
सुन किन्न इन्कार गर्दा उनीहरुले धेरै अनुरोध गरेपछि सुनको तिलहरी लिई तौल गर्दा आधा तोलाको रहेको र १ लाख ४० हजार रुपैयाँमै उनीहरु दिन तयार भएको पाइएपछि किनेको रसाइलीले बताए ।
‘एक लाख चालीस हजार रुपैयाँ दिएर एकैछिन बस्दै गर्नुहोस्, मभित्र सुन जाँच गरेर आउँछु भनेको थिएँ, भित्र गएर जाँच्दा तिलहरी चाँदीले बनेको र बाहिरबाट सुनको जस्तो देखिने जलप लगाएको थाहा पाएपछि तत्काल बाहिर निस्कँदा उनीहरु भागिसकेका थिए’, रसाइलीले भने, ‘ठूलो तिलहरीमा पहिला जाँच गर्न नमिल्ने थियो, उनीहरुको खोजतलास गर्दा फेला परेनन् ।’
उनले सामाजिक सञ्जालमा खोजतलास गर्नेक्रममा टिकटक आइडी, नाम र ठेगाना पत्ता लागेपछि प्रहरीमा आएको बताए ।
बिल पनि नक्कली
उनीहरुले गहना काठमाडौँको सुन पसलमा खरिद गरेको बताएका थिए ।
श्री न्यु गणेश सुनचाँदी पसल काठमाडौँ, बुढानिलकण्ठ–१२, तेन्जिङ चोक कपनको बिल देखाएर रसाइलीलाई सुन बेचेका थिए ।
काठमाडौँको सुनपसलमा सम्पर्क गर्दा उनीहरुले जारी गरेको बिलमा सुन पसलको नाम र प्यान नम्बर मात्र मिलेको अरु सबै कीर्ते भएको पाइएपछि आफू ठगिएको रसाइलीले महसुस गरेका थिए ।
नेपालप्रेसको सम्पर्कमा आएका सुन पसलका सञ्चालक गणेश विकले भने, ‘सुन पसल र प्यान नम्बर मेरो हो, न त्यो बिल नम्बर मिल्छ, न बिलको विवरण अनुसार सुन कारोबार भएको छ, पसल र प्यान नम्बर दुरुपयोग गरेर ठगी भएको रहेछ ।’
अरु पनि ठगिए
झुरझुरेको लम्कना सुनचाँदी पसलका सञ्चालक रसाइली मात्र होइन, यो गिरोहले अरुलाई पनि ठगेको पत्ता लागेको छ ।
काठमाडौँकै सुनपसलको बिलअनुसारको अर्को पनि ठगीको घटना आएको छ ।
अर्थात् १ देखि २४ नम्बरका यस्ता नक्कली बिल र नक्कली सुनका गहनाको दुई वटा बिलको उजुरी आएपछि आफू सुनचाँदी व्यवसायी संघमा निवेदन दिन पुगेको विकले बताए ।
उनले भने, ‘हस्ताक्षर, गहनाको परिमाण र मूल्य केही पनि मेरो होइन, अर्को पनि बिलबाट उनीहरुले ठगी गरेको खबर आएपछि गिरोहले मेरो सुनपसलको नाममा ठगी मच्चाइरहेको थाहा भएको छ ।’
उनीहरुले जारी गरेको बिल र सक्कली बिलमा पनि फरक देखिएको छ ।
‘दुवै जना टिकटकमा हाँसिखुसी भिडियो बनाइरहेका छन्,’ दिनेश रसाइलीले भने, ‘उनीहरुले दिएको नम्बरमा फोन पनि लाग्दैन, टिकटकको सन्देशमा पनि कुनै जवाफ आउँदैन ।’
मकवानपुर सुनचाँदी व्यवसायी संघका सदस्य राजकुमार घिमिरे ग्रामीण भेगका सुन पसल पत्ता लगाएर दुःख देखाउँदै ठग्ने यस्तो गिरोह सक्रिय देखिएको बताउँछन् ।
‘तत्काल सुन परीक्षण गर्न नमिल्ने ठूला तिलहरी देखाएर सुन पसल सञ्चालकलाई ठग्ने गिरोह भेटियो,’ उनले भने, ‘मान्छे दुःख देखाउँदै आएर हाकाहाकी ठग्न थाले ।’






















