images
images
  • अफलाइन पठाओ र इनड्राइभर चलाउने १३ जना पक्राउ

    काठमाडौं- पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा पठाओ र इनड्राइभर जस्ता राइड सेयरिङ एपमा आबद्ध भई वा नभई अफलाइन माध्यमबाट यात्रु बोक्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    एप प्रयोग नगरी सिधै मोलमोलाइ गरेर यात्रु ओसार्ने, तोकिएको भन्दा बढी भाडा असुलेर ठगी गर्ने र यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिएको गुनासो र सूचनाका आधारमा प्रहरीले यो कारबाही अघि बढाएको हो।

    पक्राउ पर्नेहरूमा ३२ वर्षीय विष्णु बहादुर नेपाली, ३६ वर्षीय राजन परियार, ४६ वर्षीय लिल बहादुर गुरुङ, २२ वर्षीय प्रविण थापा, ३१ वर्षीय नवीन थापा, ४६ वर्षीय दीपक कुमार गुरुङ र ५४ वर्षीय अम्मर बहादुर महतरा रहेका छन्।

    त्यसैगरी प्रहरीले ३२ वर्षीय माधव कुइँकेल, ३३ वर्षीय बुद्धि बहादुर वि.क., ३० वर्षीय विक्की लामा, ४० वर्षीय कृष्ण कुमाल, ३२ वर्षीय मिन बहादुर थापा र २३ वर्षीय कृष्ण बहादुर गुरुङलाई पनि नियन्त्रणमा लिएको छ।

    पक्राउ परेका व्यक्तिहरू स्याङ्जा, कास्की, तनहुँ र गोरखा घर भई हाल पोखराका विभिन्न स्थानमा बस्दै आएका थिए।

    कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

    पछिल्लो समय पोखरामा एप बिना नै यात्रु बोक्ने र मनपरी भाडा लिने प्रवृत्ति बढेपछि प्रहरीले निगरानी कडा पारेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images