काठमाडौं- पाटनको कृष्णमन्दिरमा चैत २५ गते साँझ दुईजना दाजुभाइमाथि चक्कु प्रहार भाग्दै गरेका सन्जीव नेपालीलाई प्रहरी जवान शाहाना बोहराले नियन्त्रणमा लिइन् ।
दुई जनालाई गम्भीर घाइते (अस्पताल पुग्नासाथ मृत घोषित) बनाएर भाग्दै गरेका सन्जीवलाई नियन्त्रणमा लिने बोहराको साहसिक कामले संगठनको छवि बढेको भन्दै प्रशंसा गरिएको छ ।
उनी तीन महिनादेखि प्रहरी प्रभाग मंगलबजारमा कार्यरत थिइन् ।
ललितपुर महानगरपालिका-९, भोलढोकाका ३२ वर्षीय सन्जु भनिने सन्जीवले झापाँ घर भई ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २५ वर्षीय सृजन नेम्बाङको चक्कु प्रहार गरी हत्या गरेका थिए ।
चक्कु प्रहारलगत्तै घटनास्थलबाट भागेका सन्जीवलाई पछ्याउँदै प्रहरी जवान शाहानाले नियन्त्रणमा लिएकी थिइन् ।
शाहानाको उक्त साहसिक कामको प्रशंसा गर्दै जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पुरस्कृत गरेको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटी र उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख एआईजी ईश्वर कार्कीले उनलाई पुरस्कृत गरे ।
ललितपुर प्रहरी र उपत्यका प्रहरीले प्रहरी नियमावली २०७१ परिच्छेद १५ को १९७ ‘ख’ अनुसार प्रहरीको अभिलेखमा जनाइने गरेर उनलाई नगद पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय ललितपुर र रानीपोखरीले प्रशंसा पत्रमा हतियारसहितको आरोपितलाई साहसिक ढंगले आफ्नो जिउ ज्यानको परबाह नगरी पक्राउ गरेर प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेको भन्दै पुरस्कृत गरिएको जनाएका छन् ।
एक वर्षअघि प्रहरी सेवामा प्रवेश गरेकी शाहानाको दरबन्दी भने प्रहरी प्रभाव चुनिखेल ललितपुर हो ।
तर, उनी तीन महिनादेखि प्रहरी प्रभाग मंगलबजारमा कार्यरत छिन् ।
शाहानाले सन्जीवलाई नियन्त्रणमा कसरी लिइन् रु
प्रहरी जवान शाहाना बोहरा र पुरुष प्रहरी हवल्दार कृष्ण मन्दिर क्षेत्रको सुरक्षाका लागि मंगलबजार चोकमा ‘पिकेट’ ड्युटीमा खटिएका थिए ।
साँझ ७:३० मा कृष्ण मन्दिरअगाडि चक्कु प्रहार भएको हल्ला सुनेपछि उनीहरू घटनास्थल पुगे ।
सुरुमा उनीहरूलाई घटना सामान्य नै हो कि भन्ने लागेको थियो । तर, घटनास्थलको दृश्यले उनीहरू चकित परे ।
शाहानासँगै घटनास्थल पुगेका प्रहरी हवल्दार घटनाबारे कमान्डरलाई रिपोर्टिङ गर्दै उद्धारमा खटिए ।
शाहानाले भने स्थानीयको सूचनाको आधारमा चक्कु प्रहार गर्ने युवालाई पछ्याइन् । चक्कु प्रहारगर्ने सन्जीव चक्कुसहित दौडिरहेका थिए ।
शाहानाको हातमा लाठी थियो । कृष्ण मन्दिरबाट उनीहरू दौडिदै करिब २०० मिटर पर पुगिसकेका थिए ।
साहानाले चक्कु बोकेका सन्जीवलाई नभाग्न आग्रह गरिन् । सन्जीवले उनको कुरा सुनेनन् ।
शाहानाले सन्जीवमाथि लाठी प्रहार गरिन् । सन्जीवले चक्कु प्रहार गर्न खोजे । शाहानालाई आफूमाथि पनि आक्रमण होला भन्ने लाग्यो । तर, पनि उनले पिछा छाडिनन् ।
ललितपुरका एसएसपी होविन्द्र बोगटी भन्छन्, ‘प्रहरी जवान शाहानाले साहसिक काम नै गरेको देखिन्छ । हतियारसहित हिँडेका आरोपीलाई नियन्त्रणमा लिनु सहज हुँदैन । अझ उनीमाथि चक्कु प्रहारसमेत गर्न खोजेको देखिन्छ । तर, उहा नियन्त्रणमा लिन सफल हुनुभयो ।’
शाहानाको उक्त कार्यका लागि आफूहरूले पुरस्कृत गरेको उनको भनाइ छ ।
शाहानाले पिछा नछोडेपछि भने सन्जीव हतारहतार एक रेष्टुरेन्टभित्र छिरे । साहानाले रेष्टुरेन्टको ढोका थुनेर बन्द गरिन् ।
चक्कुसहित भित्र पसेका सन्जीवलाई नियन्त्रणमा लिन भने उनले थप टोली मगाइन् । प्रहरीले उनको साथबाट नेम्बाङ दाजुभाइको हत्या गर्न प्रयोग गरिएको चक्कुसहित उनलाई घटनाको केही मिनेटमै पक्राउ गर्यो ।
घटनालगत्तै मंगलबजारमा प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी पूर्णिमा चन्द, मंगलबजारका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठ तथा ललितपुर प्रमुख एसएसपी होविन्द्र बोगटी पुगे ।
सन्जीव पक्राउ परेपछि उनीसँगै घटनास्थल पुगेका नवलपरासी गैडाकोटका २२ वर्षीय गगन सुनारसमेत पक्राउ परेका छन् ।
उनीहरू दुवैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।






















