काठमाडौं– मन्त्रिपरिषद्को मंगलबारको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, बैठकले अर्थ मन्त्रालयअन्तर्गत बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकको ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
पूर्वाधार विकासतर्फ, नागढुंगा सुरुङमार्गको पश्चिम खण्डमा पर्ने धुनिबेसी नगरपालिका र पासाङल्हामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्डका निजी जग्गा प्राप्त गर्न सरकारले अनुमति दिएको छ ।
साथै, काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणका लागि काठमाडौं, ललितपुर र मकवानपुरका वन क्षेत्रको ४६।३९ हेक्टर जग्गा प्रयोग र १८,८९८ रुख काट्न अनुमति दिइएको छ ।
प्रशासनिक सुधारका लागि ललितपुरको पुल्चोकस्थित जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र गोदावरी सारेर भवनमा जल तथा ऊर्जा आयोगको सचिवालय स्थापना गर्ने निर्णय भएको छ ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डोटीका डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजीनामा पनि स्वीकृत गरिएको छ ।
बैठकले इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न पेट्रोल, डिजेल र मट्टितेलमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने विशेष नीति अपनाउने निर्णय गरेको छ ।
यससँगै इन्धन खपत घटाउन सार्वजनिक बिदा, जोर–बिजोर प्रणाली, विद्युतीय सवारी र इथानोलको प्रयोग प्रोत्साहन गर्ने नीति अघि सारिएको छ ।
यसका साथै यसअघिको मन्त्रिपरिषद् बैठकले २८ अर्ब ऋण लिने गरेको निर्णय फिर्ता लिएको छैन ।
यसबारे देशव्यापी चर्को निर्णय भइरहेको छ ।






















