काठमाडौं- पछिल्लो दुई दिनमा काठमाडौं उपत्यकामा सक्रिय ३३ जना गुण्डाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
चैत २० र चैत २१ मा अपरेशन चलाएर प्रहरीले गुण्डाहरू पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गुण्डागर्दीमा संलग्न ३३ जना अहिले हिरासतमा छन् ।
प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति दिएको छ ।
यसअघि पनि पक्राउ परेकाहरूलाई ‘पटके’ कायम गरेर कसुर मागदाबी गर्दै अदालतमा मुद्दा लैजाने प्रहरीको तयारी छ ।
ज्यान मार्ने उद्योगसम्बन्धी कैद भुक्तान गरेर फागुन २७ मा डिल्लीबजार कारागारबाट दीपक मनाङे छुटे ।
गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ छुटेको ३ दिनपछि ठमेलमा उनको भव्य स्वागत भएको थियो ।
गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका मनाङेको स्वागतमा त्यस दिन उपत्यकामा सक्रिय धेरै गुण्डाहरू ठमेलस्थित क्लब नोभामा पुगे ।
मनाङेको स्वागतमा झण्डै ४ सय ५० जना मानिसहरू भेला भएका थिए ।
भेलामा उपस्थित भएका गुण्डाहरूबारे ‘निगरानी’ गरेर अपरेशनको तयारी गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
मनाङे छुटेपछि उपत्यकाका गुणडहरू सलबलाएको प्रहरीको निष्कर्ष छ ।
काठमाडौंमा हप्ता असुली, धाकधम्की र बिचौलियाको भूमिका निर्वाह गरेर गुण्डाहरूले रकम असुल्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार सुरुमा गुण्डाहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा र अन्य मुद्दा आकर्षित भएमा अरु मुद्दामा पनि अनुसन्धान गरिने । उजुरी र थप कसुर गरेको भेटिएमा त्यसमा पनि अनुसन्धान गरेर कानुनी कारबाही गरिने छ ।























