images
images
  • १० लाख ऋण लागेपछि….

    काठमाडौं- विराटनगर महानगरपालिका-४ मा रहेको यातायात व्यवस्था कार्यालय परिसरबाट सरकारी छाप र अधिकृतको दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    सवारी दर्ता किताब (ब्लू बुक) नवीकरणका नाममा ठगी गरेको आरोपमा विराटनगर-६ का ३७ वर्षीय कमलकुमार स्वर्णकार पक्राउ परेका हुन् ।

    यातायात कार्यालय परिसरमा लेखापढीको काम गर्दै आएका स्वर्णकारले सवारी बिलबुक रिन्युका लागि आउने सेवाग्राहीलाई ठगी गर्ने गरेका थिए ।

    मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार सवारी दर्ता किताबमा आफै सरकारी छाप, दस्तखत र अधिकृतको हस्ताक्षर प्रयोग गरी सवारीसाधनको नवीकरण प्रक्रिया पूरा गर्थे ।

    सरकारी राजस्व भने उनी आफै राख्थे । ब्लु बुक रिन्यु गर्न पुगेका सेवाग्राहीले सरकारी ढड्डामा विवरण नभेटेपछि प्रहरीमा निवेदन दिएका थिए ।

    प्रहरीले स्वर्णकारलाई चैत १६ गते दिउँसो पक्राउ गरेको थियो ।

    ‘प्रारम्भिक अनुसन्धानका क्रममा १० लाख रुपैयाँ ऋण लागेपछि छिटो पैसा कमाउन किर्ते गरेको देखिन्छ,’ एसपी कटवालले भने, ‘थप अनुसन्धान जारी छ ।’

    प्रहरी स्रोतका अनुसार स्वर्णकारले ९५७९ नम्बरको मोटरसाइकलको ब्लू बुक नवीकरण गरिदिने भन्दै जिम्मा लिएका थिए ।

    यातायात कार्यालयको पनि कमजोरी देखिएको प्रहरीले बताएको छ ।

    यातायात कार्यालयका कर्मचारीले अधिकृतको हस्ताक्षर र छाप बाहिर राख्दा ठगी गर्ने गिरोहलाई सजिलो भएको प्रहरीले बताएको छ ।

    प्रहरीले स्वर्णकारको घर खानतलासी गर्दा विभिन्न ११ थान ब्यू बुक फेला परेको छ ।

    सेवाग्राहीका ब्लू बुक नवीकरणका लागि जिम्मा लिने र नवीकरण गरिदिएको भन्दै ढाँटेर राजस्व नतिरिकन फर्जी रसिद उपलब्ध गराउने गरेको देखिएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images