images
images
  • १७ करोड ७९ लाख बढीको क्रिप्टोकरेन्सी कारोबार, पक्राउ परे चिनियाँ नागरिक

    काठमाडौं- नेपाली नागरिकहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर ठगी गर्ने र उक्त रकमलाई अवैध रुपमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) मा कारोबार गर्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार ठमेल क्षेत्रबाट ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार फेङले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क बढाउने र उनीहरूलाई विभिन्न प्रलोभन देखाई विश्वासमा लिने गरेका थिए ।

    उनले नेपाली नागरिकहरुकै बैंक खाताहरू प्रयोग गरेर ठगीको रकम संकलन गर्ने र सो रकमलाई अभौतिक मुद्रामा रूपान्तरण गरी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले शुक्रबार जनाएको छ ।

    १७ करोड ७९ लाखको कारोबार
    प्रहरीले निजको साथबाट १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँ २३ पैसा बराबरको क्रिप्टोकरेन्सीको कारोबार भएको विवरण फेला पारेको छ ।

    यसैगरी, निजको साथबाट ३ थान मोबाइल फोन र रकम पठाउन प्रयोग गरिने ‘इन्टरनेशनल एक्सप्रेस’ लेखिएका विभिन्न कागजातहरू समेत बरामद गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका फेङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

    नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी मानिन्छ।

    निजले अन्य को-कोसँग मिलेर यस्तो ठूलो रकमको अवैध कारोबार गरेका हुन् भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images