काठमाडौं- यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना बिचौलियालाई पक्राउ गरेको छ।
सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न सहजीकरण गरिदिने नाममा अवैध कमिसन लिँदै आएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, सादा पोसाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो बुटवलमा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटाका २५ वर्षीय सरोज खनाल र गुल्मी छत्रकोट गाउँपालिका घर भई हाल बुटवल-१३ बेलबास बस्ने ३७ वर्षीया कुसुम मरासिनी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी कृष्ण कुमार चन्दले दिएको जानकारी अनुसार, पक्राउ परेका दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ र उनीहरूमाथि थप अनुसन्धान सुरु भइसकेको छ।
प्रहरीले यस्ता अवैध गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ।
ट्राफिक कार्यालय बुटवलमा बिचौलियाको बिगबिगी लामो समयदेखि रहेको र यसले सेवाग्राहीलाई अनावश्यक आर्थिक भार पर्ने गरेको गुनासो आउने गरेको थियो।
प्रहरीको यो कदमले यस्ता गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।























