काठमाडौं- बोर्डले यस वर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ ।
परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो ।
अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्न पाउनेछन् ।
परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
पत्रकारले पनि परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्बिर लिन पाउनेछन् ।
परीक्षा हलभित्र दृश्य छायांकन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले आग्रह गरेको छ ।
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् ।
यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, १ केन्द्राध्यक्ष, १ सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर १ निरीक्षक, १०० परीक्षार्थी बराबर १ कार्यालय सहयोगी र अन्य २ कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थपघट गर्न सक्नेछ ।


विश्व खबर 




















