images
images
  • आजदेखि देशभर एसईई : सवा ५ लाख विद्यार्थी सहभागी, जापानमा पनि परीक्षा केन्द्र

    काठमाडौं- नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।

    परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ ।

    यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् ।

    यस वर्षको एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ ।

    सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

    एक महिनामै नतिजा ल्याउने नयाँ कार्ययोजना
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले कार्यभार सम्हालेलगत्तै शिक्षा क्षेत्रमा सुधार गर्ने दाबी सहित निर्णयहरु गरिरहेका छन् ।

    मन्त्रालयका एक सहसचिवका अनुसार उनले एसईईको नतिजा ढिला हुँदा विद्यार्थीहरूको शैक्षिक क्यालेन्डर बिग्रिएको र उनीहरूमा मानसिक तनाव बढेको भन्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

    सोही निर्देशनलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि उत्तरपुस्तिका परीक्षणको परम्परागत शैलीमा परिवर्तन गरेको छ ।

    विगतका वर्षहरूमा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाउने र गोप्य केन्द्रहरू तोकेर परीक्षण गर्ने प्रचलन थियो । यसले गर्दा ओसारपसार र समन्वयमा धेरै समय खर्च हुने गर्थ्यो ।

    तर यस वर्ष बोर्डले जुन परीक्षा केन्द्रमा परीक्षा भएको हो । सोही क्षेत्रका परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ ।

    एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजालाई छिटोभन्दा छिटो सार्वजनिक गर्ने प्राथमिकता रहेको छ ।

    उनले मन्त्रालयको निर्देशन र विद्यार्थीको हितलाई ध्यानमा राख्दै हामीले यस पटक सम्बन्धित जिल्ला वा क्षेत्रकै परीक्षा केन्द्रलाई आधार मानेर परीक्षण केन्द्र कायम गर्ने निर्णय गरेको बताए ।

    यसले गर्दा उत्तरपुस्तिका ओसारपसारमा लाग्ने समय बचत हुने र स्थानीय शिक्षकहरूको प्रत्यक्ष संलग्नतामा काम छिटो सकिने बोर्डले अपेक्षा गरेको छ ।

    सुरक्षा र गुणस्तरमा विशेष सतर्कता
    परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्दा सुरक्षा र निष्पक्षतामा प्रश्न उठ्न सक्ने आशंकालाई बोर्डले पहिल्यै सम्बोधन गरेको जनाएको छ ।

    नियन्त्रक अधिकारीका अनुसार यदि कुनै केन्द्रमा सम्बन्धित विषयको शिक्षक उपलब्ध नभएमा वा सुरक्षाको दृष्टिले संवेदनशील देखिएमा त्यस्ता केन्द्रको उत्तरपुस्तिका शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा अर्को सुरक्षित ठाउँमा स्थानान्तरण गरिनेछ ।

    ‘हामीले लचिलो तर सुरक्षित संयन्त्र बनाएका छौँ । जहाँ शिक्षक अभाव छ वा असुरक्षित महसुस हुन्छ, त्यहाँको उत्तरपुस्तिका तत्कालै अर्को केन्द्रमा सारिनेछ,’ उनले भने ।

    सवा ५ लाख विद्यार्थी, जापानमा पनि केन्द्र
    बोर्डको तथ्याङ्क अनुसार कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षाका लागि फारम भरेका छन् ।

    छात्राको संख्या २ लाख ५७ हजार ६ सय १३ रहेको छ भने छात्रको संख्या २ लाख ५४ हजार ८ सय १ रहेको छ ।

    यसैगरी, ७ जना अन्य लिङ्गी विद्यार्थीहरूले पनि यस पटकको एसईईमा सहभागी छन् ।

    छात्राको संख्या छात्रको तुलनामा बढी हुनुले नेपालमा महिला शिक्षाको पहुँच बढ्दै गएको सकारात्मक सन्देश दिएको बोर्डले जनाएको छ ।

    यस वर्ष पनि जापानमा रहेको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन् ।

    जापानमा रहेका नेपाली समुदायका बालबालिकाहरूका लागि त्यहाँको स्थानीय समय र नेपालको समयबिच तालमेल मिलाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

    देशभर र जापान समेत गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images