images
images
  • इनिसा विक : चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन अदालतको आदेश

    काठमाडौं- इनिसा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकहरुलाई इनिसा विकका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।

    मंगलबार सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले चारै जना नाबालकहरुलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन भनेको हो ।

    अदालतका सूचना अधिकारी उज्वल रावलले हाललाई पूर्पक्षका लागि सुधार गृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै रहेको बताए ।

    ‘सबै साक्षीहरूको बयान र प्रमाणहरूको अध्ययन गरिसकेपछि मात्र यस मुद्दामा अन्तिम ठहर हुनेछ,’ उनले भने ।

    गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका-१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।

    फागुन २३ गते शनिबार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका-४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

    ‎इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाको नाममा निवेदन दिए ।

    चैत्र ११ गते प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा इनिसामाथि सामूहिक नभई एकल करणी भएको निष्कर्षसहित पठाएको थियो ।

    तर आइतबार सरकारी वकिल कार्यालयले योजनाबद्ध तरिकाले सामूहिक बलात्कार भएको भन्दै चारै जनाविरुद्ध मुद्दा अघि बढाउन अभियोग पत्र अदालतमा दायर गर्‍यो ।

    अदालतले पनि मंगलबार चारै जना नाबालकलाई पूर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images