काठमाडौं– जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज मात्रै अदालत लगिएको हो ।
आजै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालतमा उपस्थित गरिँदै छ ।
गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने २४०० भन्दा बढी घाइते भएका थिए ।
आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
उक्त घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहितका जिम्मेवार पदाधिकारीलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।
त्यसपछि बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि उनीहरूलाई चैत १४ गते पक्राउ गरिएको हो ।
पक्राउपछि ओलीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको छ ।























