images
images
  • धनुष सहकारीको साढे १२ करोड अपचलन, तीन जना पक्राउ

    काठमाडौं- पोखराको धनुष सहकारी ठगी आरोपमा तीन जना पक्राउ परेका छन् ।

    पोखरा ९ नयाँ बजारमा कार्यालय रहेको सहकारीबाट १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको वित्तीय अध्ययनबाट खुलेको छ ।

    कास्की प्रहरीले सहकारीका सचिव बिराज सुवेदी, व्यवस्थापक जगत पौडेल र ऋण उपसमिति सदस्य कृष्णबहादुर जैसी पक्राउ गरेको हो।

    वित्तीय विश्लेषकको प्रतिवेदन अनुसार सचिव सुवेदीले २ करोड २५ लाख र व्यवस्थापक पौडेलले १ करोड २५ लाख रुपैयाँ अपचलन गरेका छन् ।

    यस्तै जैसीले ऋण उपसमितिमा रहँदा कृत्रिम खाता खडा गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले आइतबार उक्त प्रतिवेदन जिल्ला प्रहरी कार्यालयलाई बुझाएको हो ।

    सोही आधारमा सोमबार जैसी पक्राउ परेका थिए भने बाँकी २ जना मंगलबार पक्राउ परेका हुन् । उक्त सहकारीको रकम अपचलनमा १३ जनालाई प्रतिवादी बनाइएको छ ।

    रजिस्ट्रार भेषराज रिजालले सञ्चालकहरूले हिसाब मिलान गर्न नसकेपछि प्रतिवेदन सहितको पत्र प्रहरीलाई पठाइएको जानकारी दिए ।

    अघिल्लो पुसमा गरिएको छानबिनबाट १९ करोड १८ लाख अनियमितता देखिएको थियो । पटक पटकको ताकेतापछि करिब ६ करोड मिलान भएको र बाँकी रकम मिलान हुन नसकेपछि मुद्दा दायर गरिएको हो ।

    पक्राउ परेका जैसी सूर्यदर्शन सहकारीका पीडित समेत हुन् । उनको करिब १ करोड रुपैयाँ सहकारीमा फसेको दाबी गरेका छन् ।

    उनले निर्वाचनको समयमा कास्की ३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई आफ्नो बच्चाको स्कुलको विल बुझाएका थिए । सोही घटनाबाट उनी चर्चामा समेत आए । अहिले उनै जैसी पक्राउ परेका हुन् ।

    उनले रास्वपा सभापति रवि लामिछानेले समेत सूर्यदर्शनको रकम अपचलन गरेको आरोप लगाएका थिए ।

    लामिछाने पीडितहरूको जाहेरीको आधारमा गत वर्ष पक्राउ परेर ६५ लाख धरौटीमा छुटेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images