images
images
  • को–को हुन् संसदीय निर्वाचनमा पराजय भोग्ने पूर्वप्रधानमन्त्रीहरू ?

    काठमाडौं– झापा–५ मा य पटकको संसदीय निर्वाचनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका छन् ।

    अन्तिम मतपरिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत मात्रै ल्याएका छन् ।

    नेपाली संसदीय निर्वाचनको इतिहासमा पराजित हुने ओली पहिलो पूर्वप्रधानमन्त्री भने होइनन् ।

    यसअघि पनि धेरै पूर्वप्रधानमन्त्रीहरू चुनावी प्रतिस्पर्धामा हार व्यहोरेका उदाहरण छन् ।

    २०१५ सालको आमनिर्वाचनमा टंकप्रसाद आचार्य काठमाडौं–५ बाट उम्मेदवार बनेका थिए तर चौथो स्थानमा सीमित भए ।

    त्यस्तै सोही निर्वाचनमा केआई सिंह डोटी दक्षिणबाट उम्मेदवार बनेर दोस्रो स्थानमा रहेका थिए ।

    बहुदलकालपछि सूर्यबहादुर थापा पनि विभिन्न निर्वाचनमा पराजित भएका थिए ।

    २०४८ सालको निर्वाचनमा धनकुटा–२ बाट उनी पराजित भएका थिए ।

    त्यस्तै पञ्चायतकालका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट २०५१ र २०५६ सालका निर्वाचनमा काठमाडौं–३ बाट उम्मेदवार बने पनि दुवै पटक पराजित भएका थिए ।

    लोकेन्द्रबहादुर चन्द २०४८ र २०५६ को निर्वाचनमा बैतडीबाट पराजित भए भने मरिचमान सिंह श्रेष्ठ २०४८ को निर्वाचनमा सल्यान–२ बाट हार व्यहोरेका थिए ।

    २०४८ सालको निर्वाचनमा अन्तरिम सरकारका प्रधानमन्त्री रहेका कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट मदनकुमार भण्डारीसँग पराजित भएका थिए ।

    पछि भएको उपनिर्वाचनमा पनि उनी विद्या भण्डारीसँग हार्न पुगेका थिए ।

    २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल काठमाडौं–१० बाट पराजित भएका थिए, यद्यपि सिरहा–५ बाट भने विजयी भएका थिए ।

    त्यस्तै बाबुराम भट्टराई रूपन्देही–४ बाट पराजित भए पनि गोरखा–१ बाट विजयी भएका थिए ।

    माधवकुमार नेपाल यस पटकको निर्वाचनमा रौतहट–१ बाट पराजित भएका छन् ।

    त्यस्तै झलनाथ खनाल पनि विभिन्न निर्वाचनमा हार–जित दुवै अनुभव गर्ने पूर्वप्रधानमन्त्रीमध्ये पर्छन् ।

    यसरी हेर्दा नेपाली संसदीय राजनीतिमा पूर्वप्रधानमन्त्रीहरू समेत चुनावी प्रतिस्पर्धामा पराजित हुनु असामान्य घटना होइन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images