काठमाडौं- गुल्मीको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी भएका छन् ।
उनले २९ हजार ६ सय ४२ मत प्राप्त गर्दा नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार १ सय ८१ मत प्राप्त गरेका छन् ।
कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ५ सय ५ र नेकपाका सुदर्शन बरालले ३ हजार १ सय ७६ मत ल्याएका छन् ।
यो अन्तिम मत मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी गराए ।
गुल्मीको सत्यवती गाउँपालिका-६ मा २०४८ साल वैशाख २८ गते जन्मिएका सागर ढकाल रास्वपाका चर्चित तथा प्रभावशाली युवा नेता हुन् ।
पेशाले इन्जिनियर रहेका ढकाल पछिल्लो समय नेपाली राजनीतिमा उदाउँदै गरेको नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा स्थापित हुँदै गएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि उनी राष्ट्रिय राजनीतिमा व्यापक रूपमा चर्चामा आएका हुन् ।
उक्त निर्वाचनमा उनले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष प्रतिस्पर्धा गरेका थिए ।
स्थापित र शक्तिशाली राजनीतिक व्यक्तित्व देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएर उनले देउवाले प्राप्त गरेको मतको करिब आधा मत ल्याउन सफल भए ।
जसले ढकाललाई राष्ट्रियस्तरमै परिचित बनायो । राजनीतिमा प्रवेश गर्नुअघि नै सामाजिक अभियन्ताका रूपमा सक्रिय रहेका ढकाल शिक्षा, युवा सशक्तीकरण, विकास र सुशासनका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन् ।
उनी विशेषगरी युवालाई नेतृत्वमा ल्याउनुपर्ने, राज्य सञ्चालनमा पारदर्शिता कायम गर्नुपर्ने र भ्रष्टाचाररहित, उत्तरदायी शासन प्रणाली निर्माण गर्नुपर्ने धारणा राख्छन् ।























