images
images
  • खामेनी हत्याको बदला लिने इरानको उद्घोष, राष्ट्रपतिले भने– ‘ट्रम्प र नेतान्याहु निसानामा छन्‌’

    तेहरान– आयतोल्लाह अली खामेनीको हत्यापछि इरानले कडा प्रतिक्रिया जनाउँदै दोषीलाई कडा सजाय दिने र बदला लिने चेतावनी दिएको छ ।

    इरानी राष्ट्रपति मसुद पेजेस्कियानले उक्त घटनालाई ‘भयानक अपराध’ भन्दै यसले इस्लामिक जगत र शिया इतिहासमा गहिरो असर पार्ने बताएका छन् ।

    राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा यो हत्या कुनै हालतमा अनुत्तरित नरहने र योजनाकार तथा संलग्न व्यक्तिहरूलाई कानुनी कठघरामा उभ्याइने स्पष्ट पारिएको छ ।

    राष्ट्रपति पेजेस्कियानले सर्वोच्च नेताको बलिदानले अमेरिकी–जियोनिस्ट दमनविरुद्ध नयाँ चरणको प्रतिरोध सुरु गर्ने दाबी गरे ।

    उनले खामेनीको रगत अन्यायविरुद्धको शक्तिशाली प्रतीक बन्ने उल्लेख गर्दै दोषीहरूलाई पछुतो गराइने बताए ।

    यसका साथै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आफ्‌नो मिसाइलको घेरामा रहेको चेतावनी दिएका छन् ।

    इरानले आफ्ना सबै शक्ति, दृढ संकल्प र विश्वभरका इस्लामिक राष्ट्र तथा स्वतन्त्र समर्थकहरूको साथमा यस हत्याका योजनाकार र कार्यान्वयनकर्तालाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

    घटनाप्रति शोक व्यक्त गर्दै इरान सरकारले ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

    साथै, सात दिनसम्म सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images