images
images
  • काठमाडौं महानगरले एसईईको नतिजा सुधार्न ११ विद्यालयमा सञ्चालन गर्‍यो विशेष कक्षा

    काठमाडौं काठमाडौं महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार ल्याउन सोमबारदेखि ६ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गरेको छ।

    गत वर्ष एसईईमा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ विद्यालयलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको विभागले जनाएको छ।

    पहिलो चरणमा गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको छ।

    ती विद्यालयका ५२३ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ। कक्षामा विषय विज्ञ, स्रोत शिक्षक तथा सेवा निवृत्त शिक्षकहरूले अध्यापन गर्नेछन्।

    न्यून नतिजा र न्यून विद्यार्थी संख्या भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा चैत ३ गतेपछि विशेष कक्षा सञ्चालन गरिने जनाइएको छ।

    यी विद्यालयका १०४ जना विद्यार्थी कार्यक्रममा सहभागी हुनेछन्।

    दुवै समूह गरी ६२७ जना विद्यार्थी (कुल परीक्षार्थीको करिब १३ प्रतिशत) लाई विशेष कक्षा प्रदान गरिनेछ।

    गीतामाता माध्यमिक विद्यालयमा कक्षा शुभारम्भ गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यार्थीमा परीक्षाको डर हटाई आत्मविश्वासका साथ परीक्षामा सहभागी गराउने तथा उत्तर लेख्ने सीप विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन्।

    उनले विद्यार्थीलाई प्रश्नले खोजेको मात्र उत्तर लेख्न र सबै प्रश्नको जवाफ दिन सुझाव दिइन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले समयमै पाठ्यक्रमको तयारी र कडा परिश्रम नै सफलताको आधार भएको बताए ।

    शिक्षा विभागका प्रमुख नमराज ढकालले विगतमा केन्द्र तोकेर विद्यार्थीलाई अन्य विद्यालयमा पठाउँदा आवतजावतमा असहजता देखिएकाले यस वर्ष आफ्नै विद्यालयमा विशेष कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

    यस वर्ष महानगरभित्रका सामुदायिक विद्यालयबाट करिब ४ हजार ५५७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्।

    विभागका अनुसार २०८१ सालको एसईईमा ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए ।

    जसमध्ये १७ जनाले ४ जीपीए ल्याएका थिए। यो संख्या २०८० सालको तुलनामा ४४.७७ प्रतिशतले बढी हो।

    विशेष कक्षामार्फत सिकाइ उपलब्धि न्यून भएका विद्यार्थीलाई परीक्षा तयारी, लेखन शैली र उत्तर प्रस्तुतीकरणमा सघाएर समग्र एसईई उत्तीर्ण प्रतिशत वृद्धि गर्ने लक्ष्य राखिएको शिक्षा विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images