गुल्मी– गुल्मी क्षेत्र नम्बर १ विगत डेढ दशकदेखि राष्ट्रिय राजनीतिमा विशेष चासोको विषय बन्दै आएको निर्वाचन क्षेत्र हो ।
यहाँको चुनावी परिणामले केवल एक सांसदको चयन मात्र गर्दैन, राष्ट्रिय शक्ति सन्तुलन र राजनीतिक सन्देशसमेत निर्धारण गर्ने गरेको छ ।
२०६४ सालदेखि सुरु भएको आलोपालो जितको क्रमले यस क्षेत्रलाई अझ रोचक बनाएको छ ।
२०६४ को संविधानसभा निर्वाचनमा प्रदीपकुमार ज्ञवाली (नेकपा एमाले) विजयी भए ।
२०७० मा डा. चन्द्र भण्डारी (नेपाली कांग्रेस)ले नतिजा आफ्नो पक्षमा पारे ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा फेरि ज्ञवाली विजयी भए भने २०७९ मा पुनः भण्डारीले बाजी मारे ।
यसरी हेर्दा गुल्मी–१ का मतदाताले हरेक चुनावमा परिवर्तनको संकेत दिएका छन् ।
कुनै एक नेताले निरन्तर वर्चस्व कायम गर्न सकेका छैनन् ।
यस क्षेत्रमा प्रतिस्पर्धा परम्परागत रूपमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच केन्द्रित रहँदै आएको छ ।
एमालेका ज्ञवाली परराष्ट्र मन्त्रीसमेत भइसकेका राष्ट्रिय स्तरका अनुभवी नेता हुन् ।
उनी विकास, पूर्वाधार र राष्ट्रियताका मुद्दालाई प्राथमिकता दिँदै मतदातामाझ पुग्ने गर्छन् ।
अर्कोतर्फ, कांग्रेसका डा. भण्डारी सामाजिक न्याय, स्वास्थ्य, शिक्षा र स्थानीय विकासका एजेन्डा उठाउँदै आएका छन् ।
अब प्रश्न उठेको छ, २०८२ मा कसको पालो ?
विगतको प्रवृत्ति हेर्दा परिणाम फेरिने क्रम दोहोरिने संकेत देखिन्छ ।
यदि त्यही ट्रेन्ड कायम रह्यो भने यस पटक एमालेको पक्षमा परिणाम जान सक्ने अनुमान केही विश्लेषकले गरेका छन् ।
राष्ट्रिय राजनीति अस्थिर देखिएको सन्दर्भमा स्थानीय मतदाता स्थिर र प्रभावकारी प्रतिनिधित्व खोज्ने मनोविज्ञानमा हुनसक्ने तर्क पनि प्रस्तुत गरिएको छ ।
यद्यपि, यस पटकको चुनाव परम्परागत द्वन्द्वमा मात्र सीमित छैन ।
वैकल्पिक शक्तिको उपस्थिति निर्णायक बन्न सक्ने आकलन छ ।
विशेषतः सागर ढकालको प्रवेशले समीकरण बदलिन सक्ने सम्भावना बढाएको छ ।
उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवाविरुद्ध डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएर राष्ट्रिय चर्चा बटुलेका थिए ।
यद्यपि उनले जित हात पार्न सकेनन्, तर युवा र वैकल्पिक राजनीतिका प्रतीकका रूपमा आफ्नो पहिचान स्थापित गरेका थिए ।
अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट गुल्मी–१ मा उम्मेदवार बनेपछि परम्परागत दुई दलमाथि दबाब बढेको छ ।
यसैबीच, नेकपाबाट उम्मेदवार बनेका सुदर्शन बराल पनि अर्को चुनौतीका रूपमा देखिएका छन् ।
अघिल्ला चुनावमा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भइसकेका बरालको उपस्थितिले प्रतिस्पर्धा चारकोणीय बनेको छ ।
मत विभाजनको सम्भावना यस पटक झन् बलियो देखिन्छ। यदि रास्वपा वा अन्य तेस्रो शक्तिले उल्लेख्य मत कटौती गरे, एमाले र कांग्रेस दुवैको परम्परागत गणित बिग्रन सक्छ ।
गुल्मी–१ ले विगत १६ वर्षदेखि आलोपालो परिणाम दिँदै आएको छ ।
२०८२ को निर्वाचनले त्यो परम्परालाई निरन्तरता दिने कि नयाँ राजनीतिक धार स्थापित गर्ने यो प्रश्नको उत्तर अब मतपेटिकाले नै दिनेछ ।
राजनीतिक रूपमा परिपक्व मानिएका यस क्षेत्रका मतदाताले सन्तुलित र सन्देशमुखी निर्णय गर्ने इतिहास बोकेका छन् ।























