images
images
  • को-को जादैछन् टोकियो ओलम्पिकमा नेपालका खेलाडी ?

    काठमाडौ । सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट, एथलेटिक्सबाट सरस्वती चौधरी तथा पौडीमा गौरिका सिंह र एलेक्स साहले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् ।

    जापानको टोकियो सहरमा २३ जुलाईदेखि ८ अगस्टसम्म हुने गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालबाट २६ जनाले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मंगलबार ‘ओलम्पिक यात्रा’को कार्यक्रमबीच खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूको नाम सार्वजनिक गरेको हो ।यसअघि ओलम्पिकमा सहभागिता जनाउँदा एनओसीले खेलाडी र प्रशिक्षकबाहेक अन्य पदाधिकारी नाम सार्वजनिक गर्दैनथ्यो । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडी र चार प्रशिक्षक सहभागी रहनेछन् । यसबाहेक १७ जना पदाधिकारी रहनेछन् ।

    यी हुन् टोकियो ओलम्पिकमा जाने पाँच खेलाडी :

    सुटिङकी कल्पना परियार, जुडोबाट सोनिया भट्ट, एथलेटिक्सबाट सरस्वती चौधरी, पौडीबाट गौरिका सिंह र पौडीकै एलेक्स साहले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१६ को रियो ओलम्पिकमा नेपालबाट सात खेलाडीले भाग लिएका थिए । त्यसवेला आर्चरी, पौडी, जुडो, एथलेटिक्स र तेक्वान्दो खेलका नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपटक सुटिङ, जुडो, आर्चरी तथा पौडी खेलका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाली खेलाडीहरूले वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा भाग लिन लागेका हुन् । अन्तिम समयमा एथलेटिक्समा गोपीचन्द्र पार्कीको स्थानमा सरस्वतीले वाइल्ड कार्ड प्राप्त गरी ओलम्पिकको यात्रा सुनिश्चित गरेकी हुन् । पार्कीले एक वर्षदेखि टोकियो ओलम्पिकका लागि आफ्नो तयारी गरिरहेका थिए ।

    पौडी र एथलेटिक्सका खेलाडी युनिभर्सियालिटी प्लेसअन्तर्गत सहभागी हुन लागेका हुन् । यसबाहेक अन्य दुई खेलाडी वाइल्ड कार्ड प्राप्त गरी ओलम्पिकमा भाग लिन लागेको एनओसीले जनाएको छ । टोकियो ओलम्पिकमा पौडीकी गौरिकाले उद्घाटनको मार्च पासमा झन्डा बोक्ने छिन् । सन् २०१६ को रियो ओलम्पिकमा गौरिकाले सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडीकी रूपमा रेकर्ड बनाएकी थिइन् । उनको यो दोस्रो ओलम्पिक यात्रा हो । ओलम्पिकमा सहभागिता जनाउन गौरिका र एलेक्स गत साता नै टोकियो पुगेका छन् । टोकियोमा गौरिका र एलेक्सले आ–आफ्नो प्रशिक्षणसमेत सुरु गरिसकेका छन् । एनओसीले नेपालमा रहेका खेलाडीलाई सोल्टी होटेलमा राखी प्रशिक्षणको व्यवस्था मिलाएको छ ।

    खेलाडी भाग लिने इभेन्ट्स :
    सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले भाग लिँदै आइरहेको छ । योपटकको सहभागिता १४औँ हो । नेपाली खेलाडीमध्ये गौरिकाले महिला सय मिटर फ्री स्टाइल र एलेक्सले पुरुष सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । सुटिङकी कल्पनाले १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूहमा भाग लिनेछिन् । सरस्वतीले एथलेटिक्सतर्फ सय मिटर दौडमा सहभागिता जनाउनेछिन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् । ओलम्पिकमा ३३ खेलका ३ सय ३९ इभेन्ट्समा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्

    ‘जात्रा होइन, यात्रा’
    ओलम्पिक सहभागितामा नेपाली खेलाडी भन्दा पनि पदाधिकारी को–को जाने भन्नेमा सधैँ विवाद हुने गर्थ्यो । जसका कारण ओलम्पिकमा खेलाडीभन्दा पनि अफिसियल सदस्यहरूसमेत हुने गर्थे । नेपाल ओलम्पिक कमिटी ९एनओसी० का अध्यक्ष श्रेष्ठले यसपटक भने जात्रा नभएर ओलम्पिक यात्राका रूपमा विश्लेषण गरेका छन् । ‘अघिल्लोपटकको ओलम्पिक आउँदा जात्रा नै हुन्थ्यो भने योपटक ओलम्पिक यात्राका रूपमा हामी जाँदै छौँ,’ उनले भने, ‘व्यवस्थित र एकआपसमा समन्वय गरेका छौँ ।’

    खेलकुदका प्रमुख सम्बन्धित निकाय ओलम्पिककै निमित्त एक–आपसमा सहकार्य गर्दै अगाडि बढेकाले यसपटकको सहभागितालाई ओलम्पिक यात्राका रूपमा लिएको उनले बताए । ‘हामीले इतिहासमै पहिलोपटक व्यवस्थित रूपमा ओलम्पिकमा सहभागिताका लागि तयारी गरेका छौँ,’ श्रेष्ठले भने, ‘ओलम्पिक टोलीको तयारीमा एनओसी खेलकुद मन्त्रालय, राखेप र सम्बन्धित खेल संघबीचमा समन्वय गरेका छौँ ।’

    टोकियो ओलम्पिक गत वर्ष नै हुनुपर्ने थियो । तर, कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको हो । यद्यपि अहिले पनि टोकियोमा कोरोना महामारीकै रूपमा छ । स्थानीयहरूले यो प्रतियोगिता स्थगित गर्नुपर्ने मागसहित विरोध प्रदर्शन गरिरहेका छन् । एनओसीका अध्यक्ष श्रेष्ठले नेपालको सहभागिताको सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।

    नेपाल समूह वानमा
    आयोजक जापानले संसारभर कोरोना संक्रमितका आधारमा सहभागी देशलाई वर्गीकरण गरेको छ । जापानले नेपाललाई समूह वानमा राखेको छ । जापानले यो समूहमा परेका देशहरूका खेलाडी, प्रशिक्षक तथा अफिसियललाई अनिवार्य रूपमा कोरोनाविरुद्धको दुई डोज खोप लिनुपर्ने जनाएका छन् । नेपाली टोलीका सबै सदस्यहरूले दुई डोज खोप लिइसकेका छन् । यसैगरी टोकियो प्रवेश गर्नुअघि नेपाली टोलीका सदस्यले सात दिन लगातार पिसिआर’ परीक्षणबाट गर्नुपर्ने छ । टोकियो पुगेपछि तीन दिन ‘क्वारेन्टिन’मा बस्नुपर्नेछ ।

    तयारी राम्रो नभएको गुनासो
    कार्यक्रममा सहभागीहरूले कोभिड–१९ का कारण नेपालको तयारी राम्रो हुन नसकेको गुनासो गरेका छन् । परिषद्का सदस्यसचिव सिलवालले कोरोनाका कारण तयारी राम्रोसँग गर्न नपाएको बताए । ‘हामीले ओलम्पिकको लागि भनेर जुन रूपमा तयारी गर्नुपर्ने थियो, त्यो कोरोना महामारीका कारण गर्न पाएनौँ,’ सिलवालले भने । कोभिडकै कारण खेलाडीलाई विदेशमा पठाउन नसकिएको र विदेशी प्रशिक्षकसमेत झिकाउन असमर्थ भएको उनले बताए । यसैबीच प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूको खेल पोसाक केल्मी नेपालले प्रायोजन गरेको छ । यसैगरी अलिबाबाअन्तर्गतको दराजले प्रतियोगिताको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि प्रायोजन गरेको छ ।

    खेलाडीभन्दा पदाधिकारी बढी
    यसपटक पनि ओलम्पिकमा खेलाडी र प्रशिक्षकभन्दा अफिसयल नै बढी छन् । एनओसीका अध्यक्ष जीवराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका टोकियो ओलम्पिकमा जाने भएका छन् । अध्यक्ष र महासचिवबाहेक एनओसीबाट सातजना सदस्य टोकियो जाने सूचीमा उल्लेख छन् । एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, उपाध्यक्ष तेजबहादुर गुरुङ, उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, सहमहासचिव पिताम्बर तिम्सिना, सचिव कुमारी तुलसी थापा, सदस्य प्रकाश शमशेर राणा र सदस्य राम अवाले रहेका छन् ।

    यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने पनि टोकियो जाने भएका छन् । राष्ट्रिय खेलकुदबाट चारजनाले ओलम्पिकमा जाने मौका पाएका छन् । उपाध्यक्ष शिव कोइराला, सदस्यसविच रमेशकुमार सिलवाल र सदस्यद्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ रहेका छन् । पाँच खेलाडीका लागि एकजना मेडिकल टोलीका सदस्य पनि रहेको एनओसीले जनाएको छ । मेडिकल टोलीमा डा। नविशमान सिंह प्रधान छन् । यता टोकियो नेपाली दूतावासका कर्मचारी र स्वयंसेवक पनि टोकियो ओलम्पिकमा नेपाली प्रतिनिधिका रूपमा रहने एनओसीले जनाएको छ । परिषद्का सदस्यसचिव सिलवाल सेफ द मिसिनका रूपमा रहेका छन् ।

    ‘ओलम्पिकका लागि टोकियो सहर तयार’

    अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाकले ओलम्पिक खेलकुद आयोजनाका लागि टोकियो सहर यसपटक अहिलेसम्मकै उत्कृष्ट तरिकाले तयार रहेको जनाएका छन् । प्रतियोगिताको उद्घाटन हुनु १० दिनअघि अध्यक्ष बाकले आयोजक सहरको प्रशंसा गरेका हुन् ।

    अध्यक्ष बाक प्रतियोगिताको तयारीबारे जानकारी दिन भर्चुअल्ली गरिएको पत्रकार सम्मेलनमा टोकियो २०२० आयोजक प्रमुख सइको हासिमोतोसँगै देखिएका थिए । प्रतियोगिताका लागि गत साता मात्रै जापान आइपुगेका अध्यक्ष बाकले प्रतियोगितालाई सुरक्षित आयोजना गर्न सबै मिहिनेत गरिएको बताए । ‘आयोजक सहरले प्रतियोगिता आयोजनाका लागि साँच्चिकै अद्भुत तयारी गरेको छ । हामी सबैले व्यहोर्नुपरेको यो फरक परिस्थितिमा हुन लागेको यो प्रतियोगिताका लागि गरिएको यो तयारी प्रशंसायोग्य छ’, उनले भनेका छन् ।

    मंगलबार टोकियो ओलम्पिकको ओलम्पिक भिलेज पनि खुला गरिएको छ, जहाँ प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरू बस्नेछन् । टोकियो ओलम्पिकमा दुई सय पाँच देशबाट ११ हजार खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । आइओसीका अनुसार उक्त खेलाडीमध्ये ८५ प्रतिशत खेलाडीले कोरोना भाइरस ९कोभिड १९० महामारीविरुद्धको भ्याक्सिन लगाएका छन् ।

    बिहीबार प्रतियोगितामा सहभागी हुन इटाली र बेलायतका खेलाडीहरू आइपुगेका छन् । ‘कोरोना महामारीका कारण सिर्जित धेरै खाले चिन्ता र चासोलाई परास्त गर्दै अन्तत खेलाडीहरूले ओलम्पिकको यो स्टेजमा आफ्नो प्रतिभा देखाउन पाउने भएका छन्,’ अध्यक्ष बाकले भने, ‘मलाई विश्वास छ कि खेलाडीहरूले यो अवस्थामा पनि आफ्नो पूर्ण क्षमताका साथ प्रदर्शन दिनेछन् ।’

    पछिल्लो समय प्रतियोगिता आयोजना हुने टोकियो सहरमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा देखिएको छ । सोहीकारण कोरोना भाइरस आपत्कालीन अवस्थाको घोषणा गरी प्रतियोगिताको आयोजना गरिनेछ । आयोजक सहर र आइओसीले प्रतियोगिताको दौरान दर्शकलाई अनुमति नदिइने घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images