काठमाडौं- अस्ट्रेलियामा गाडी दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ। अस्ट्रेलियाको पर्थमा शुक्रबार मध्यराति गाडी अनियन्त्रित भएर घरभित्रै पस्दा एक नेपालीको मृत्यु भएको हो।
अस्ट्रेलियाबाट प्रकाशन हुने अनलाइन एबिसी न्युजका अनुसार दुर्घटनामा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरूङको मृत्यु भएको हो।
त्यहाँको प्रहरीका अनुसार शुक्रबार राति करिब ११स्४० बजे अलेक्जेन्डर रोड हुँदै रिभरभेल क्षेत्रतर्फ जाँदै गरेको कार घरमा ठोक्किएको थियो।
विष्णुकुमारी उक्त घरको अघिल्लो कोठामा सुतिरहेकी थिइन्। कार ठोक्किएर घरभित्रै छिरेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
एबिसी न्युजका अनुसार विष्णुकुमारी केही दिनअघि मात्रै पर्थ पुगेकी थिइन्। उनी छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्।
छोरीले सन्तान जन्माएपछि उनी अस्ट्रेलिया गएकी थिइन्।
शनिबार कार चालक ३६ वर्षीय राइस हकिन्स पक्राउ परेका छन्। उनलाई भने केही नभएको एबिसी न्युजले लेखेको छ।
आइतबार अदालतमा उपस्थित गराइएको उनलाई धरौटीमा छाड्न अस्वीकार गरिदिएको छ। अर्को सुनुवाइ फेब्रुअरी १८ मा तोकिएको छ।


विश्व खबर 




















