images
images
  • कारागारभित्रबाटै पेस्तोल, गोली र नगदसहित नाइके पक्राउ, केदीबन्दीले गरे आगजनी र तोडफोड

    काठमाडौं- सिरहा कारागारमा कैदीबन्दीले तोडफोड आगजनी गरेका छन् । जेलभित्रै नाइकेको विषयलाई लिएर विवाद भएको हो ।

    कारागरभित्रै अराजकता मचाएपछि सिराहा प्रहरीले नाइके इन्द्रजित यादव सहित १३ जनालाई पक्राउ गरेको छ ।

    यादवलाई पक्राउ गरेको विषयलाई लिएर जेलभित्रै उनी पक्षका कैदीबन्दीहरूले तोडफोड र आगजनी गरेका हुन् ।

    कारागारभित्र गोली र ठूलो परिमाणमा नगद रकम बरामद भएको थियो ।

    जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ फेला परेको हो ।

    अनुगमनका क्रममा चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।

    कारागारभित्र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा कारागारका नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा, लागुऔषधको कारोबार, मोबाइल फोनको प्रयोग तथा चन्दाका नाममा जबर्जस्ती असुली हुँदै आएको विशेष सूचनाका आधारमा आज विहान सोमबार अपरेसन सञ्चालन गरिएको थियो ।

    सो क्रममा नाइके यादवको कोठाबाट बन्दुक, गोली र नगद रकम बरामद गरिएको उनले जानकारी दिए।भाग्ने योजना बनाएको आरोपमा १३ जना कैदीलाई नियन्त्रणमा लिइएको छ ।

    उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारको भित्री गेटबाट बाहिर निकालिएको थियो ।

    घटनापछि कारागारको अवस्था तनावग्रस्त बनेको छ । केही कैदी छतमाथि चढेर ‘नाइके इन्द्रजितलाई फिर्ता गर’, इन्द्रजित दाइ चाहियो, हाम्रो माग पूरा गर, सिडिओ, जेलर, एसपी मुर्दावाद’ लगायतका नाराबाजी गरिरहेका छन् ।

    कारागारभित्र कैदिबन्दीहरूले सिरक लगायतका लुगाहरूमा समेत आगजनी गरेका छन् ।

    कारागार भित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति रहेको छ ।

    नियन्त्रणमा परेका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको प्रशासनले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images