images
images
  • बैंकले प्रक्रिया छलेर जग्गा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित

    सिरहा – कृषि विकास बैंक लहान शाखाले प्रक्रिया नै छलेर जग्गा लिलाम गरेको भन्दै पीडित परिवारले थालेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । स्थानीयहरूले लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध पारेर आन्दोलित बनेका हुन् ।

    उनीहरूले बिहीबार बिहान ११ बजेदेखि २ बजेसम्म चक्काजाम गरे । आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ ।

    त्यसक्रममा दर्जनबढी आन्दोलनकारीलाई चोटपटक लागेको छ भने १० बढी प्रहरी पनि घाइते छन् ।सो क्रममा १० राउन्ड अश्रुग्यास प्रहार र ४ राउन्ड हवाई फायर पनि जिल्ला प्रहरी कार्यालय, सिराहका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । उनका अनुसार, अहिले स्थिति सामान्य भइसकेको छ ।

    लहान नगरपालिका वडा-२ का स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्गमा टाँसिएको ७ धुर जग्गा धितो राखी २०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए । रामचन्द्रका अनुसार, गत मंसिरसम्ममा किस्तामा १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसकेका छन् ।

    तैपनि आफ्नो जग्गा कर्मचारीले थाहै नदिई गुपचुप रूपमा लिलाम गरेको उनको भनाइ छ । उनका अनुसार, अहिले उक्त जग्गाको चलनचल्तीको मूल्य १ करोड ४५ लाख हो ।

    तर, बैंकले ३५ लाखमै लिलाम गरिदिएको उनी बताउँछन् । यस विषयमा रामचन्द्र करिब एक महिनादेखि बैंक धाइरहेका छन् । उनले जग्गा फिर्ता पाउनुपर्ने भन्दै पुस ११ मा बैंकमा ताला लगाएका थिए ।

    तालाबन्दीपछि बैंकले जग्गा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउने सहमति गर्‍यो । तर, सहमति कार्यान्वयन नभएपछि पीडित यादव पुनः बैंकविरुद्ध सडक आन्दोलनमा उत्रेपछि प्रहरीबाटै दमनको सिकार भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images