काठमाडौं– भोजपुरमा फागुन २१ मा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल निकै रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको छ ।
यसपटक नेपाली कांग्रेसले अनुभवी नेता वालकृष्ण थापालाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले)ले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा पार्टी सचिव शेरधन राईलाई मैदानमा उतारेको छ ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट अजम्बर राई र आम जनता पार्टी (आजपा)का युवा नेता युवराज थापा पनि चुनावी प्रतिस्पर्धामा छन् ।
युवा नेता थापाले जिल्लाभित्र बलियो जनसमर्थन निर्माण गरेका छन् ।
उनको बढ्दो प्रभावले ठूला दलका उम्मेदवारहरूलाई समेत चुनौती थपिएको देखिन्छ ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा अग्रपंक्तिमा रहेर नेतृत्व गर्दा उनी घाइते भएका थिए ।
सो क्रममा उनको बाँया खुट्टामा गोली लागेको थियो ।
हाल उनी उपचाररत अवस्थामै छन् ।
भोजपुरका युवामाझ लोकप्रिय अनुहारका रूपमा चिनिएका थापा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गृहपालिका रामप्रसाद राई गाउँपालिकाका बासिन्दा हुन् ।
आन्दोलनअघि नै उनी जिल्लामा भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा परिचित थिए ।
विकास निर्माणमा देखिएको अनियमितता र भ्रष्टाचारका विषय निरन्तर उजागर गर्दै आएका कारण उनी युवा नेताका रूपमा स्थापित भएका हुन् ।
जिल्लाका सात स्थानीय तहमध्ये अरुण, रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकालाई उनको प्रभाव क्षेत्र मानिन्छ ।
पूर्वमुख्यमन्त्री राईको गृहपालिका आमचोक गाउँपालिकासमेत आफ्नो भोट बैंक भएको थापाले दाबी गर्दै आएका छन् ।
यसपटक आम जनता पार्टीका थापाको पक्षमा देखिएको बलियो मतभारले चुनावी परिणाममा उल्लेखनीय प्रभाव पार्न सक्ने आँकलन गरिएको छ ।























