images
images
  • भारतमा नेपाली नक्कली नोट छाप्ने कारखाना, २५ लाख नक्कली पैसा र तीन नेपालीसहित १० जना पक्राउ

    काठमाडौं- सीमापार भारतीय भूमिमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापामारी गरिएको छ।

    भारतमा नक्कली नोट छपाई गरी नेपालमा पैठारी कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका तीन नेपालीसहित १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ समेत गरेको छ।

    भारत बिहार राज्यको सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ)ले गरेको संयुक्त कारबाहीमा नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर नष्ट गरेको भारतीय प्रहरीले जनाएको छ।

    छापा मार्ने क्रममा प्रहरीले २५ लाख नेपाली नक्कली नोट, एक लाख ४० हजार सक्कली नेपाली रुपैयाँ, एक हजार ८५० नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेसिन, नोट विशेष सादा २२ बण्डल कागज, रसायन लगायतका सामग्री बरामद गरेको बिहार पुलिसले जनाएको छ। नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीनवटा मोटरसाइकल र कार पनि बरामद गरिएको छ।

    पक्राउ परेकाहरुलाई हिरासतमा राखेर विस्तृत सोधपुछ भइरहेको र गिरोहका अन्य सदस्य र मुख्य योजनाकारको पहिचान खुल्ने काम भइरहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ। अभियुक्तहरुको नाम भने अझै सार्वजनिक गरिएको छैन।

    उक्त गिरोहले खुला नेपाल–भारत सिमानाको फाइदा उठाउँदै निर्वाचनको समयमा नेपालमा नक्कली नोट तस्करी गर्ने र बजारमा बिक्री गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    आसन्न प्रतिनिधि सभा निर्वाचनमा पैसाको चलखेल गरी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले नक्कली नोटको छपाई भइरहेको आशंका गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images