images
images
  • निर्वाचन सुरक्षा : झापाको सबै मतदानस्थलमा सुरक्षा चुनौतीपूर्ण, अन्य ठाउँ कति संवेदनशील ?

    काठमाडौं- निर्वाचन आयोगका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यका, झापा र हिमाली जिल्ला संवेदनशील क्षेत्रका रूपमा देखिएका छन् ।

    निर्वाचन आयोगले एकीकृत सुरक्षा संयन्त्रसँगको परामर्शमा तयार पारेको आन्तरिक प्रतिवेदनमा यी क्षेत्र संवेदनशील क्षेत्रको रूपमा नक्सांकन गरिएको छ । निर्वाचनका लागि मौसमको सम्भावित प्रतिकूलताको विश्लेषण गर्दै हिमाली जिल्लालाई संवेदनशील क्षेत्रको सूचीमा राखिएको आयोगले जनाएको छ ।

    निर्वाचनका अवरोधहरूको विश्लेषण गर्दै आयोगले हुम्ला, कालिकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका निर्वाचन क्षेत्रहरूलाई मौसमका हिसाबले संवेदनशील क्षेत्रका रूपमा राखेको हो । काठमाडौं उपत्यका र झापालाई निर्वाचन आयोग र एकीकृत सुरक्षा संयन्त्रले सुरक्षा संवेदनशील क्षेत्रको रूपमा राखेको हो ।

    झापा–५ मा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीका कारण सम्भावित सुरक्षा संकटको समेत विश्लेषण गरिएको एकीकृत सुरक्षा संयन्त्र स्रोतले बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक तथा कार्यकर्ताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गर्न सक्ने सम्भावित अवरोध र त्यसमाथि हुनसक्ने प्रतिकार्यको विश्लेषण गरेर सुरक्षा पूर्वानुमान गरिएको सुरक्षा सम्बद्ध स्रोतले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय झापाले हरेक निर्वाचन क्षेत्रको मिहिन विश्लेषण गर्दै सुरक्षा तयारी गरेको प्रतिवेदन बुझाएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २ सय ८५ मतदानस्थलमध्ये १ सय ४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेको उनले जानकारी दिए ।

    जिल्लामा ८ सय १५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए । प्रजिअ गेलालले झापा–५ मा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिए । ५ निर्वाचन क्षेत्र रहेको झापामा ७ लाख १३ हजार ५ सय ३७ मतदाता छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images