काठमाडौं- २२ पुसमा सर्लाहीको मलङ्गवा नगरपालिका–३ का एक बालकमा दादुराको लक्षण देखियो ।
सुरुमा देखिएको लक्षण दादुरासँग मिल्दोजुल्दो भए पनि तत्कालै दादुरा हो भन्ने पुष्टि हुन सकेन । शंकाका आधारमा लिइएको नमुना परीक्षण गर्दा भने दादुरा पुष्टि भयो ।
पहिलो संक्रमित बालकको पहिचानसँगै स्वास्थ्यकर्मीहरू थप सतर्क बने । केही दिन नबित्दै बालकको सम्पर्कमा आएका अन्य बालबालिकामा पनि उस्तै लक्षण देखिन थाल्यो । त्यसपछि पहिलो संक्रमितसँग नजिकको सम्पर्कमा रहेका ६ जना शंकास्पद बालबालिकाको नमुना संकलन गरियो । परीक्षणको नतिजाले सबैलाई चकित बनायो । सबै जनामा दादुरा पुष्टि भयो ।
अहिलेसम्म दादुराको लक्षण देखिनेको संख्या २३ पुगेको छ । तीमध्ये २२ जना मुस्लिम समुदायका बालबालिका छन् ।स्वास्थ्य प्रणालीले यसलाई सामान्य घटना नभई महामारीको रूपमा लियो ।
दादुरा अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । चिकित्सकका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । दादुरा सामन्यतयाः ५ वर्षमुनिका बालबालिकामा धेरै हुने र छिट्टै फैलिएर महामारीको जोखिम हुने विज्ञहरु बताउँछन् । दादुरा संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्युसमेत हुनसक्छ ।
दादुरा भाइरस व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र श्वास नली एवं अरू भित्री अंगहरूमा संक्रमण गर्छ । रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटाबाट हावाको माध्यमबाट दादुराको संक्रमण सर्छ ।
सामान्य अवस्थामा एक संक्रमितबाट १८ जनासम्म व्यक्तिहरूमा दादुरा–रुबेला सर्न सक्छ । त्यसैगरी यी रोगबाट सामान्यतया १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्छ भने आपतकालीन अवस्थामा मृत्युदर ३० प्रतिशतसम्म हुनसक्छ ।


विश्व खबर 



















