images
images
  • ३ वटा अध्यादेश ल्याउन सहयोग नै भएन, रिस उठ्यो र म्याग्दीतिर दगुरेँ : महावीर पुन

    काठमाडौं– निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गरे। राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली स्वीकार गरेको भए आफूमा यो निर्वाचनमा लड्ने मनसाय नै नभएको उनको भनाइ छ ।

    “शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई अघि बढाउने उद्देश्य थियो। तर तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नै भएन,” पुनले बुधबार सामाजिक सञ्जालमार्फत भने।

    उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको बताए। तर सो प्रस्ताव मुख्य सचिव तहबाट पनि रोकिएको उनको आरोप छ। “छुट्टै विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउने कुरा अल्झाइयो। त्यसपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” पुनले भने।

    त्यसपछि शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दी पुगेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ। पुनले अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचारप्रसार गर्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images