images
images
  • म्यान्डेट कुल्चेर माथिल्लो पद ताक्दै लोभी नेता

    काठमाडौं- आवधिक निर्वाचनको जनमत र नियुक्ति हुँदाको म्यान्डेट कुल्चेर जनप्रतिनिधिको भूमिकामा रहेकाहरू ५ वर्षे सांसद बन्न जनमतको अपमानमा ओर्लिएका छन् । जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभाका लागि २१ फागुनमा नयाँ निर्वाचन हुने भएपछि राष्ट्रियसभादेखि प्रदेशसभा र स्थानीय तहका विभिन्न जनप्रतिनिधिले राजीनामा दिएर निर्वाचनमा होमिएका छन् ।

    कद घटाउँदै पदको लालच

    जेनजी आन्दोलनपछिको अवस्था सम्हाल्नका लागि राष्ट्रपतिले नियुक्त गरेकी प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरिएका ‘गैरदलीय’ मन्त्रीहरूसमेत नियुक्त हुँदाको म्यान्डेटविपरीत दलीय आबद्धतासहित निर्वाचनको तयारीमा होमिएपछि राजीनामा दिएका छन् । स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचनको वातावरण बनाउन नागरिक सरकारको मन्त्रीका रूपमा नियुक्त भएका मन्त्रीहरूमध्ये तीन जनाले निर्वाचनकै लागि सरकार छाडेका छन् ।

    दलीय आबद्धतासहित विभिन्न गतिविधिमा संलग्न भएको प्रमाणसहित समाचार प्रकाशित हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार एवं यातायातमन्त्रीको जिम्मेवारीमा रहेका कुलमान घिसिङले केही समयअघि राजीनामा दिएका थिए ।

    सरकारका प्रवक्ता तथा सूचना प्रविधि एवं सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भई ललितपुर–२ बाट निर्वाचन लड्ने भएका छन् भने युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सिराहा–१ बाट रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् । गैरदलीय भावनाको अन्तरिम सरकारमा ३ जना दलीय आबद्धता भएका मन्त्रीहरू सहभागी भएको उनीहरूले राजीनामा गरेपछि प्रमाणित भएको छ ।

    यस विषयमा राजधानीले यसअघि नै झन्डा हल्लाउँदै रास्वपाको चुनाव प्रचारमा मन्त्रीहरू भनेर समाचारसमेत प्रकाशित गरेको थियो । गैरदलीय सरकारमा स्वतन्त्र विज्ञको आवरणमा मन्त्री भइरहेका रास्वपाका कार्यकर्ताले आफू नियुक्ति हुँदाको म्यान्डेट कुल्चिएको मात्र नभई स्थानीय तहदेखि राष्ट्रियसभाको जिम्मेवारीका लागि जनताबाट जनमत पाएकाहरूले समेत जनमत कुल्चेर राजीनामा दिएका छन् ।

    राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने र बामदेव गौतमले राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवारी तयारी गरेका हुन् ।

    गौतमलाई बर्दिया–२ बाट निर्वाचन लड्ने गरी टिकट दिइएको भए पनि अन्तिम समयमा खोसिएको छ । श्रेष्ठले भने सर्लाही–३ बाट नेकपाको उम्मेदवार भई चुनाव लड्दै छन् भने न्यौपानेले तनहुँ–१ बाट नेकपा एमालेको उम्मेदवारको रूपमा चुनाव लड्दै छिन् ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रदेश सभामा निर्वाचित भएका धनबहादुर मास्की र नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका लुम्बिनीका दुई प्रदेश सांसदले पनि राजीनामा दिएका छन् । चौधरी नाउपा त्यागेर कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट चुनाव लड्दै छन् भने मास्की दाङ–३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्दै छन् ।

    पूर्वमुख्यमन्त्रीदेखि निवर्तमान सभामुखसम्मको राजीनामा
    मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीदेखि निवर्तमान सभामुखसम्मले संघीय सांसद उम्मेदवारको लागि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । जनमत पार्टीका नेता एवं पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले मधेश सभाको सदस्यबाट राजीनामा दिएका छन् । उनलाई नेकपा एमालेले सप्तरी–२ बाट उम्मेदवार बनाएको छ । उनी यसअघि जनमतका तर्फबाट सप्तरी २ (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए भने मुख्यमन्त्री निर्वाचित भएपछि आङ्खनै पार्टीको असहयोग र अस्थिर नीतिका कारण अल्पसमयमै पदमुक्त हुनुपरेको थियो ।

    पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका उनी एमालेका लीलानाथ श्रेष्ठसँग सम्पर्कमा रहेर प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमै थिए । मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल पनि प्रदेश सभाबाट राजीनामा दिएर संघीय संसदमा उम्मेदवार बन्ने भएका छन् । सभामुख हुँदा एमाले नेतृत्वले लिएको नीतिका कारण पदमुक्त हुनु परेपछि उनी प्रदेश सभामा थप अघि नबढी संघीय सांसद उम्मेदवार बनेका हुन् ।

    यस्तै बागमती प्रदेशबाट सबैभन्दा बढी चार सांसदले राजीनामा दिएका छन् । एमालेबाट निर्वाचित अमन मास्के, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल, नेपाली काँग्रेसका कुन्दन काफ्ले र राप्रपाका सुनिल केसीले राजीनामा दिएका हुन् । मास्केले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट एमालेका तर्फबाट उम्मेदवारी मनोनयन गर्ने तयारीमा छन् ।

    दुलाल सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाइएका छन् भने काफ्ले दोलखाबाट उम्मेदवार बन्दैछन् । केसी भने राप्रपाबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा गर्दैछन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका मधेश प्रदेशका सांसद रहबर अन्सारीले पनि राजीनामा दिएर रास्वपा प्रवेश गरेका छन् । अन्सारी बारा क्षेत्र ४ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् । उनी सोमबार जनकपुरमा आयोजित सभामा रास्वपा प्रवेश गरेका हुन् ।

    बालेन, हर्क र रेणुले त्यागे स्थानीय सरकार
    संघीयतासहितको गणतन्त्रको सबैभन्दा बलियो र स्थायी सरकार मानिने स्थानीय सरकारमा ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिले पनि संघीय सांसदको लागि धमाधम पद त्यागेका छन् । सबैभन्दा ठूलो र देशैभरका लागि कामको मोडालिटी देखाउन सक्ने काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ‘भावी प्रधानमन्त्री’को रूपमा संघीय संसदको चुनाव लड्दै छन् ।

    ५ वर्षे जनमत लत्याउँदै बिचैमा छोडेको आरोप लागिरहेका उनी भने काठमाडौं मोडलमै देशको रूपान्तरण गर्न हिँडेको दाबी गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको क्षेत्र नं ५ बाट चुनाव लड्ने गरी बालेनले राजीनामा दिएका हुन् ।

    नेपालको दोस्रो राजधानी तथा ७८ औं जिल्ला भनेर राष्ट्रिय अन्तर्राष्ट्रिय ध्यानाकर्षणको केन्द्र मानिएको चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले पनि नगर प्रमुखको पदबाट राजीनामा दिएकी छन् । काठमाडौं र भरतपुर जस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि राजीनामा दिएका छन् ।

    साम्पाङले श्रम संस्कृति पार्टी नै स्थापना गरी आफू अध्यक्ष भएका छन् । उनी सुनसरीबाट चुनाव लड्दै छन् । यस्तै, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पनि पदबाट राजीनामा दिएका छन् । उनी उदयपुरबाट संघीय संसदको उम्मेदवार बन्दैछन् ।

    ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले पनि उपाध्यक्ष पदबाट राजीनामा दिएकी छन् । थापाले नेकपा एमालेको तर्फबाट ओखलढुंगाको प्रतिनिधिसभा सदस्यको रूपमा प्रतिस्पर्धा गर्नेछिन् । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images