काठमाडौं- देशका पुराना र ठुला दलहरूलाई पछि पार्दै ०७९ को चुनावमा भारी मतान्तरले चुनाव जितेका बालेन्द्र शाह बालेनले १६ महिना कार्यकाल बाँकी छँदै आइतबार राजीनामा दिए ।
संघीय सरकार हाँक्ने उद्देश्यले उनले राजीनामा दिएका हुन् । फरक कोणबाट राजनीतिमा उदाएका बालेनले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार बन्न आइतबार उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन् ।
तर, एक वर्षभन्दा बढी कार्यकाल बाँकी छँदै संघीय चुनावमा उठ्ने हतारोमा राजीनामा दिएपछि उनको राजनीतिक यात्रा कस्तो हुने हो भन्ने आमचासोको विषय बनेको छ । अझ उनले एमाले अध्यक्ष केपी ओलीकै क्षेत्र ताकेर चुनाव लड्ने तयारी गरेपछि सर्वत्र चर्चा बढेको छ । महानगरमा तीन वर्ष आठ महिनाको अवधिमा सेवाप्रवाहमा सुधार देखिए पनि समन्वय र सहकार्यमा भने कमी देखियो ।
बालेनले सुरुवाती चरणमा अवैध संरचना हटाउने, टुुकुचा खोला उत्खनन गर्ने, सडक विस्तार गर्नेलगायत काम थालेका थिए । उनकै कारण देशभरि नै डोजर चलाउने र अवैध संरचना हटाउने लहर चल्यो । उनले लामो समयदेखि नदी अतिक्रमण हटाउन खोजे पनि केन्द्र सरकारले अहयोग गर्दा काम पूरा गर्न सकेनन् । ‘उनले केन्द्र सरकारलाई कडै रूपमा खबरदारी गरे, तर खबरदारी गर्ने शैली धम्क्याउ भयो, माथिल्लो सरकारको बैठकमा भाग नलिने, आफ्ना कुरा नराख्ने, भेटघाट दिएनन्,’ स्थानीय शासनविज्ञ खिमलाल देवकोटाले भने, ‘तर, उनले पब्लिक सर्भिसमा ख्याल गरे, कर्मचारीलाई इमानदार बनाए, तैपनि समन्वय र सहकार्यमा कमी देखिए ।’ साथै, झुक्न नखोज्ने र आक्रोशित हुने स्वभावले उनले जति गर्न सक्ने त्यति काम गर्न नसकेको उनले बताए ।
राजनीतिक अध्येता हरि शर्मा बालेनको कार्यकाल सन्तोषजनक नभएको बताउँछन् । ‘बालेनले विकास निर्माण कार्यक्रममा भाग लिएको देखिएन । आफ्नै नगरपालिकाको बैठकमा पनि भिडन्त मात्रै भएको देखियो, बैठक समयमा बस्दै बस्नुभएन,’ उनले भने, ‘तर, बाहिर बालेनले राम्रो गर्यो भन्ने मात्रै हल्ला चलाइयो, जे पनि बालेनले गरेका भनेर भनियो, तर बालेनले आफूलाई ठिक रूपमा प्रस्तुत गरेजस्तो लागेन, उनले जनतासँग भेटेनन्, जनमत सुनेनन् भन्ने लाग्छ ।’ स्थानीय शासनविज्ञ देवकोटा भने पारदर्शिता, वित्तीय अनुशासन, सुशासन, संस्थाप्रतिको जवाफदेहितामा बालेनले शतप्रतिशत अंक पाउने उनले बताए । ‘पारदर्शिता, वित्तीय अनुशासन, सुशासन, संस्थाप्रतिको जवाफदेहितामा उहाँले राम्रो गर्नुभयो,’ उनले भने, ‘काठमाडौं महानगर स्रोत–साधनले भरिपूर्ण संस्था भएकाले अझै धेरै पहिचालन गर्न सकिन्थ्यो, समन्वय र सहकार्यमा कमजोरी देखिए पनि उनले आफ्ना मतदातालाई खुसी बनाएका छन् ।’
मेयर निर्वाचित भएलगत्तै १३ जेठ ०७९ मा बालेनले भनेका थिए, ‘निर्वाचनको जुन परिणाम आएको छ, त्यो विजयभन्दा पनि हाम्रो एउटा कार्यको सुरुवात हो । अबको पाँच वर्षमा हाम्रो भिजन, एजेन्डालाई पूर्ण रूपमा लागू गर्नेछौँ, महानगरवासीलाई परिवारका रूपमा लिएका छौँ । हामी सधैँ परिवार थियौँ, परिवार नै रहनेछौँ । सबै मिलेर काठमाडौंलाई देशकै मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउन सहकार्य गर्छौँ भन्ने आशा राखेका छौँ ।’ उनी ०७९ मा ६१ हजार ७६७ मतसहित निर्वाचित भएका थिए ।
०७९ को निर्वाचनमा बालेनले आफ्नो चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका थिए । महानगरवासीलाई व्यक्तिगत घटना दर्ता, वृद्धभत्ता वितरणसम्बन्धी सेवा घर–घरमै पुगेर दिने उनको बाचा थियो । उनले युवालक्षित करिअर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने घोषणा गरेका थिए । कक्षा एकदेखि आठसम्मको पाठ्यक्रम परिमार्जन गर्ने, त्यसमा इतिहास, नयाँ ढंगले फोहोर व्यवस्थापन गर्ने, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षा लिने घोषणापत्रमा उल्लेख गरेका थिए ।
शिक्षामा कायापलट, स्वास्थ्य कम सुधार
बालेनले घोषणापत्रको बुँदा १ मै सामुदायिक विद्यालयमा सुधार ल्याउने, छात्रवृत्तिलाई पारदर्शी बनाउने बाचा गरेका थिए । सातामा एक दिन शिक्षामा सिप कार्यक्रम सञ्चालन गर्ने, स्थानीय पाठ्यक्रम सुधार गर्नेलगायतमा उनले प्रभावकारी काम देखाएका छन् । हाल महानगरभित्रका निजी विद्यालयमा ३० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिलाएका छन् ।
तर, घोषणापत्रमा समेटेजसरी कक्षा आठसम्मको पाठ्यक्रम भने परिमार्जन हुन सकेन । उनले निजी विद्यालयको नाम नेपालीकरण गर्ने, सामुदायिक विद्यालयका कक्षाकोठा फराकिलो पार्ने, डिजिटल शिक्षामा जोड दिने र सामुदायिक विद्यालयले अनधिकृत रूपमा भाडामा लगाएको सटर खाली गरेर उदाहरणीय काम गरे । बालेनले चुनावी घोषणापत्रमा महानगरभित्रका अस्पतालमा १० शड्ढया निःशुल्क उपचार सेवा कार्यान्वयन गराउने घोषणा गरेका थिए । त्यो पूरा गरे । उनले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र निर्माण, वडा स्वास्थ्य चौकी निर्माण, ७० वर्षमाथिकाको निःशुल्क स्वास्थ्य जाँचलगायत प्रतिबद्धता पनि पूरा गरे । तर, महानगरकै फार्मेसी खोल्ने योजनामा भने उनी असफल भए ।























