images
images
  • एमालेले गोरखा-२ मा उम्मेदवार बनाएको चक्रे मिलन आपराधि र गुण्डा, अहिलेसम्म १२ मुद्दा

    काठमाडौं– आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका मिलन गुरुङ (चक्रे मिलन) लाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

    गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् । उनले पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको दाबी गर्दै आएका छन् ।

    एमालेले उम्मेदवार बनाउने निर्णय गरेका गुरुङ भने विवादै विवादले घेरिएका पात्र हुन् । उनी पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो ।

    सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोप उनीमाथि लागेको थियो । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।

    प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ ।

    भुतपूर्व गोर्खाआर्मीका छोरा चक्रेको घर गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक हो । उनी काठमाडौंमा भने चक्रपथ महाराजगञ्जमा बसे । चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि विस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए ।

    एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बने । अनि महाराजगञ्ज क्षेत्रमा केटाहरू जम्मा पारेर त्यसक्षेत्रका बालुवा खानीका ठेक्काहरूमा कमिसन लिन थाले ।

    महाराजगञ्ज एरियालाई आफ्नो आधार इलाका बनाउँदै ठेक्कापट्टामार्फत कमिसन र सलामी शेयर लिन थालेका उनी नदिनेविरुद्ध धम्की दिँदै कमिसन लिन थाले । सोही क्रममा पहिलो पटक चक्रे ७ साउन २०४७ मा पक्राउ परे ।

    गुन्डागर्दीको रुपमा उदाउँदै गरेका चक्रेविरुद्ध त्यतिबेला कसैले उजुरी दिएको थिएन । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध केही सार्वजनिक अपराध (अहिलेको अभद्र व्यवहारको मुद्दा) चलायो । झिनो मुद्दा भएकाले उनी केही दिनमै छुटे ।

    यसको करिब डेढ वर्षपछि फेरि चक्रेलाई परिसर काठमाडौंले नै पक्रियो । त्यतिबेला पनि प्रहरी प्रतिवेदनमै आधारमा सार्वजनिक अपराधको मुद्दा चलाइयो । उनी छुटे । त्यसयता भने पक्राउ पर्ने छुट्ने काम निरन्तर भइरहयो ।

    २१ साउन २०७१ मा गुन्डा नाइके भनेर दिनेश अधिकारी चरी प्रहरी मुठभेडमा मारिए । ३ भदौ २०७३ मा अर्का गुण्डा नाइके कुमार घैंटे (कुमार श्रेष्ठ) मारिए । गुन्डाविरुद्ध प्रहरीले कठोर नीति लिएपछि काठमाडौंमा गुण्डागर्दी भने सामसुम हुँदै गएको थियो ।

    यस्तै गोरखा क्षेत्र नम्बर २ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीका संरक्षक डाक्टर बाबुराम भट्टराईले पनि उम्मेदवारी दिने भएका छन् । यसअघि आफू अबको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बताउँदै आएका भट्टराईले आइतबार पार्टीको बैठक आफू निर्वाचन लड्ने मनस्थितिमा रहेको बताएका थिए ।

    पार्टीले सोमबार उनको उम्मेदवारीबारे निर्णय गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images