images
images
  • चितवन-३ मा रेणु भर्सेस सोविता, थपिए अर्का बलिया उम्मेदवार राप्रपाका विक्रम पाण्डे

    काठमाडौं– चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकाका सबै वडा, भरतपुर महानगरपालिकाका ६, ८, १३ देखि २८ नम्बरसम्म गरी १९ वटा वडाहरू पर्छन् । सहरीकरण भइरहेको माडी नगरपालिका सिंगै (कुल ९ वडा) सहित विकासको गतिमा अग्रसर भरतपुरका १८ वटा वडाहरू यही निर्वाचन क्षेत्रमा पर्छन् ।

    चितवन–३ तत्कालीन नेकपा माओवादी केन्द्रको उल्लेख्य मतदाता भएको क्षेत्र हो । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसै निर्वाचन क्षेत्रबाट विगतमा चुनाव लड्दै आएका थिए ।

    र आगामी निर्वाचनमा पनि उनै संयोजक रहेको नेकपाले आफ्नो पक्षमा नतिजा ल्याउने लक्ष्य राखेको छ । र सोहीअनुसार तयारी पनि गरिरहेको छ । नेकपाले यस क्षेत्रमा यसपटक भरतपुरकी मेयर रेणु दाहाललाई अघि सार्ने भएको छ, सोहीअनुसार उनको नाम केन्द्रमा सिफारिससमेत भइसकेको छ ।

    तर गत निर्वाचनको मत हेर्ने हो भने माओवादी (हाल नेकपा)को लागि चितवन–३ सहज क्षेत्र भने छैन । गत प्रतिनिधिसभा निर्वाचनमा माओवादी यहाँ पराजित भएको थियो, डा. भोजराज अधिकारी उम्मेवादर थिए ।

    तर अहिले उक्त पराजय बिर्साउन र आफूले महानगरमा गरेको कामजको जस लिन यसै निर्वाचन क्षेत्रमा मेयरबाट राजीनामा दिएर रेणु चुनावी प्रतिस्पर्धाको तयारीमा लागिपरेकी छन् । यद्यपि उनको संघीय संसद् यात्रा भने कम चुनौतीपूर्ण भने छैन । पुराना दलप्रति नागरिकको आक्रोश स्वाभाविक रहेका बेला उनको उम्मेवारीले खास अर्थ राख्नेछ ।

    उनीमाथि अर्को चुनौती बन्न सक्छ–नयाँ दलहरूसँगको तीव्र प्रतिस्पर्धा । चितवन नयाँ दलका रूपमा उदय भएको रास्वपाको उद्गम र उर्वरस्थल हो । चितवनको ३ मध्ये २ वटामा गत ०७९ को निर्वाचनमा रास्वपाका उम्मेदवारले जितेका थिए ।

    क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानेले निर्वाचन र उपनिर्वाचन दुवैमा जित निकालेका थिए भने क्षेत्र १ मा रास्वपाकै हरि ढकाल विजयी भएका थिए । तर क्षेत्र नम्बर ३ मा भने रास्वपाले हार बेहोरेको थियो, जिता बराल १४ हजार ८४३ मत सहित तेस्रो स्थानमा रहेकी थिइन् ।

    आगामी निर्वाचनमा रास्वपाले यस क्षेत्रमा केन्द्रीय सदस्य सोविता गौतमलाई उम्मेदवार बनाउने लगभग निश्चित छ ।  रास्वपाको संगठन संरचना चितवनमा बलियो देखिन्छ । छोटो समयमा बलियो संगठन बनाए पनि रास्वपा चितवन–३ मा केही कमजोर देखिन्छ । सहरी क्षेत्रका सदस्य रास्वपामा ‘कमिटेड’ भए पनि ग्रामीण क्षेत्रमा भने भोट बाँडिने जोखिम उच्च छ । रास्वपाभित्रको आन्तरिक द्वन्द्वले पनि सो क्षेत्रमा केही असर पर्ने पक्का देखिन्छ ।

    सो क्षेत्रमा रास्वपाले सोविता गौतमलाई उम्मेदवार बनाउन खोजेको छ, गौतम आयातित हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट चुनाव जेतेकी गौतम चितवन झर्नु कमजोखिमपूर्ण भने होइन । गौतमले राष्ट्रिय राजनीतिमा भूमिका देखाए पनि आम नागरिकको अपेक्षाअनुसार विकास निर्माणमा सक्रिय भएको अनुभूति सो क्षेत्रका नागरिकमा छैन । व्यवसायी गिहेन्द्र घिमिरेसँग वैवाहिक सम्बन्ध बनाएपछि चितवनसँग उनको सामीप्यता बढेको छ, त्यसैले उनले काठमाडौँ छाडेर चितवन रोजको हुन सक्ने धेरैले बुझेका छन् ।

    चितवन–३ बाट अर्का बलियामध्ये एक उम्मेदवार हुन्, राप्रपाका विक्रम पाण्डे । सो क्षेत्रबाट पटक–पटक चुनाव लडेका पाण्डे २०७९ मा विजयी भएका थिए । पाण्डे चितवन–३ का लागि भेट्रान उम्मेदवार हुन् । प्रचण्डसँग २०७४ सालमा प्रतिस्पर्धा गरेका पाण्डे पराजित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images