images
images
  • केपी ओलीको गढमा बालेनको सचिवालय, चुनावी प्रतिस्पर्धा कडा हुने निश्चित

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंका मेयर बालेन शाहले चुनावी प्रतिस्पर्धा गर्ने भएपछि झापा–५ को राजनीतिक सरगर्मी बढेको छ ।

    यो क्षेत्रमा २०४८ सालदेखि निर्वाचन लड्दै आएका छन् । २०६४ साल बाहेक सँधै जित्दै आएका ओलीले आफूलाई यही क्षेत्रमा सुरक्षित ठान्छन् । र यसपटक पनि यही क्षेत्रबाट एकल सिफारिस भएका छन् ।

    तर जेनजी आन्दोलनका बेला सत्ताको नेतृत्व गरिरहेका ओलीलाई हराएर भावी प्रधानमन्त्री बन्ने घोषणा सहित बालेनले यही क्षेत्रबाट चुनाव लड्ने तयारी बढाएका छन् ।

    चुनावी गतिविधि बढाउन दमक–५ मा घर समेत भाडामा लिइसकेको छ । यही भाडाको घरबाट बालेनको दल रास्वपा कार्यकर्ताले गतिविधि थालेका छन् । कलाकार तथा निर्देशक निश्चल बस्नेत सहितका पंक्ति पनि दमक आइसकेका छन् ।

    बालेनको सचिवालय चलाउन शुक्रबार कार्यालय उद्घाटन भएको थियो । नयाँ कार्यालयमा भेला भएका रास्वपाका नेता तथा कार्यकर्ता यसपटक झापा–५, मा परिवर्तनको बाढी आउने दाबी गर्छन् । रास्वपा कमल गाउँपालिका सभापति केदार चापागाईं पार्टीले वरिष्ठ नेतालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर झापा पठाउनु झापाका लागि गौरवको विषय भएको बताउँछन् । ‘अहिलेको माग युवा पुस्ता र रास्वपाको हो,’ एमालेको गढ किन रोज्नुभयो भन्ने प्रश्नमा उनले भने,‘त्यसो भनिएपनि परिस्थिति बदलिएको छ ।’

    स्थानीय नेता खेम कार्की यसपटक उत्साह थपेको बताउँछन् । ‘हिजो जनताले केपी ओलीलाई प्रधानमन्त्री बनाउन भोट दिएका थिए,’ उनले भने, ‘अब बालेनलाई प्रधानमन्त्री बनाउन विधिबाटै हटाउँछौं ओलीलाई ।’

    ओलीको पकड रहेको यो क्षेत्र नम्बरमा रास्वपाको सक्रियता र बालेनको आगमनले पुरानो दलका नेताहरूलाई झस्काएको छ । विश्लेषक पूर्वप्राध्यापक मोहन भण्डारी, झापा–५ मा यो पटक कडा प्रतिस्पर्धा हुने बताउँछन् ।

    ‘बालेन शाह किन आउँदैछन् भन्दा केपी शर्मा ओलीलाई हराउन, तर नयाँ ठाउँमा उनलाई सजिलो छैन,’ भण्डारी भन्छन, ‘झापा ५ मा कडा प्रतिस्पर्धा हुँदा हारजित जसको भएपनि थोरै मतान्तरको हुन्छ ।’

    बालेन साह झापा क्षेत्र नम्बर ५ आउँदै गर्दा केपी शर्मा ओलीले आफ्नो सुरक्षाका लागि कांग्रेस र राप्रपासँग सहकार्य गर्नसक्ने सम्भावना उनी देख्छन् ।

    ‘हिजो राप्रपासँग गठबन्धन भएको थियो, परम्परागत शक्तिलाई हराउन भन्दै नयाँ मान्छे आउँदा पुराना दलबीच गठबन्धन हुनसक्छ,’ उनले भने, ‘जस्तो अवस्था भएपनि प्रतिस्पर्धा कडा हुने निश्चित छ ।’

    क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीले गरेका काम र स्थानीय भएका कारण उनलाई केही फाइदा भने हुने उनको बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images